म्याग्दी, बेनी प्रादेशिक अस्पतालले नयाँ बनेको भवनबाट भित्री (इन्टरनल) तथा बाह्य (ओपीडी) दुवै सेवा सञ्चालन गर्न थालेको छ। लामो समयदेखि अस्थायी र साँघुरा कोठाबाट सेवा दिँदै आएको अस्पतालले नयाँ संरचना प्रयोगमा ल्याएसँगै सेवा प्रवाहमा सहजता आएको छ। करिब आठ वर्षसम्म अस्थायी कोठाबाट सञ्चालन हुँदै आएको अस्पताल अहिले आधुनिक भवनमा सारिएपछि बिरामीको उपचार सुविधा र स्वास्थ्यकर्मीको कार्य वातावरण दुवैमा सुधार आएको छ।
अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानका अनुसार नयाँ भवनको भुइँतलामा बाह्य बिरामी (ओपीडी) सेवा र पहिलो तलामा भित्री सेवा सञ्चालन भइरहेको छ।“पुरानो साँघुरो भवनमा बिरामीलाई सेवा दिन गाह्रो हुन्थ्यो, स्वास्थ्यकर्मीलाई पनि असजिलो थियो,” डा. प्रधानले बताए। “सर्जरी, प्रसूति र फार्मेसी सेवासमेत छिट्टै यसै भवनमा सार्ने तयारी भइरहेको छ, केही प्रशासनिक प्रक्रिया मात्र पूरा हुन बाँकी छ।”
यसका लागि अस्पताल व्यवस्थापन समितिअन्तर्गत उपसमिति गठन गरी भवन निर्माण कार्यालय र ठेकेदारसँग समन्वय गरिएको छ। नयाँ भवनमा वरिष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रियापछि उपचाररत बिरामीका लागि छुट्टाछुट्टै उपचार कक्ष व्यवस्था गरिएको छ। अनामनगर गाउँपालिका–१, दोवाका स्थानीय अमृत गर्बुजाले नयाँ भवनमा सहज रूपमा सेवा लिन सकिने भएकाले सन्तोष व्यक्त गरे।
