काठमाडौं, कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स मंगलबार सम्पन्न भएको छ । कन्फ्रेन्सको उद्घाटन नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।
एकदिने कन्फ्रेन्समा १२० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए । वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन (जीटीटीएफ) का अध्यक्ष जुन लिले कन्फ्रेन्स सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनओसीका अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङ राम्रो खेलाडी उत्पादन गर्ने संस्थाका रूपमा स्थापित भएको बताए । उनले यस्ता कन्फ्रेन्सले सहभागीहरूको आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरियाबाट आएका जीटीटीएफ अध्यक्ष जुन लिसहित सबैलाई धन्यवाद दिए । कार्यक्रममा जीटीटीएफकी उपाध्यक्ष हियोक लि, जीटीटीएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
