चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ६ जनामा चिकुनगुनिया संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। चालु आर्थिक वर्ष शुरु भएयता भेटिएका ती संक्रमितमध्ये तीन जना भरतपुर महानगर, दुई जना खैरहनी नगरपालिका र एक जना राप्ती नगरपालिकाका रहेका छन्।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार संक्रमित सबैको उमेर ३४ देखि ४४ वर्षबीचको छ। उनीहरू मध्ये अधिकांश विदेश वा अन्य जिल्लाबाट फर्किएका हुन्। चार जना भारतबाट, एक जना दक्षिण कोरियाबाट र एक जना सुनसरीबाट फर्किएको पुष्टि गरिएको छ।
गत आर्थिक वर्षमा चितवनमा १० जनामा चिकुनगुनिया भेटिएको थियो भने अघिल्ला चार वर्षमा भने स्थानीय स्तरमा संक्रमण फैलिएको पाइएन। चिकुनगुनिया एडीज एजिप्टी जातको लामखुट्टेले सार्ने भाइरल रोग हो, जसले उच्च ज्वरो, जोर्नी दुख्ने लगायतका लक्षण देखाउँछ।


