नेपालका युवा पेजेन्ट प्रतिभा सिद्धार्थ सञ्ज्यालले अन्तर्राष्ट्रिय पेजेन्ट यात्राको नयाँ अध्याय सुरु गरेका छन् । उनी मिष्टर कसमोपोलिटन इन्टरनेशनल २०२६ को चौथो संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा प्रतिस्पर्धा गरिहेका छन् । सेप्टेम्बर ४ देखि १४, २०२६ सम्म भियतनामको न्हा ट्राङ सिटीमा आयोजना हुने प्रतियोगितामा विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरूसँगै सिद्धार्थले प्रतिस्पर्धा गर्नेछन् । सिद्धार्थ अगस्ट ३० मा भियतनामतर्फ प्रस्थान गरेका हुन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.इ.इले गत मे महिना आयोजना गरेको म्यानहन्ट इन्टरनेसनल नेपाल २०२६ को फाइनल प्रतिस्पर्धामा सिद्धार्थलाई मिष्टर कसमोपोलिटन इन्टरनेसनल नेपाल २०२६का रुपमा चयन गरेको हो । सिद्धार्थको समग्र व्यक्तित्व विकास, मञ्चीय प्रस्तुति, आत्मविश्वास तथा प्रतियोगिताका लागि आवश्यक तयारी अजय गुरुङको मार्गदर्शनमा सम्पन्न भएको हो । उनको अन्तर्राष्ट्रिय सहभागिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन गरेको छ ।

सिद्धार्थको भियतनाम यात्रा फेसनका दृष्टिले पनि विशेष रहनेछ । उनले डुरियन फेस्टिभलसँगको सहकार्यमा आयोजना हुने विशेष आओ दाइ फेसन शोमा समेत सहभागिता जनाउनेछन् । भियतनामको परम्परागत पहिरन तथा सांस्कृतिक सौन्दर्यसँग जोडिएको आओ दाइ फेसन शोमा उनको सहभागिताले उनलाई स्थानीय फेसन र संस्कृतिलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय रनवेमा आफ्नो प्रस्तुति क्षमता देखाउने अर्को महत्वपूर्ण अवसर दिनेछ । भियतनाम यात्राका लागि तयार पारिएको उनको वार्डरोबमा आधुनिक शैली र नेपाली पहिचानको सन्तुलित संयोजनलाई प्राथमिकता दिइएको छ । फेसन डिजाइनर सोनम सुब्बा लिम्बुद्वारा क्युरेट गरिएका सिर्जनाहरू उनले प्रस्तुत गर्नेछन् । यसअन्तर्गत सोनम सुब्बा लिम्बुको रेडी–टु–वेयर क्याजुअल लेबल ‘सुइरो’ का चयनित पहिरनसमेत समावेश छन् ।

उनको औपचारिक प्रस्तुतिका लागि आवश्यक सुटहरू एम्पायर कलेक्सनबाट तयार पारिएका छन् भने क्याजुअल तथा समकालीन लुकका लागि निओबर वेयर्स र इनुब बाई एजे का पहिरनहरू समावेश गरिएका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फेसनको मौलिकता र समकालीन सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले नेपाली डिजाइनर सरिता थापा मगर तथा शारोन कुट्युरद्वारा विशेष रूपमा तयार पारिएका पहिरनहरू पनि उनको अन्तर्राष्ट्रिय वार्डरोबको हिस्सा बनेका छन् । विभिन्न डिजाइनरका सिर्जनालाई समेटिएको उनको वार्डरोबले नेपाली फेसनको विविधता, सिर्जनात्मकता र आधुनिक अभिव्यक्तिलाई विश्वमञ्चमा प्रस्तुत गर्नेछ ।


