Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

अल्टिमा प्रोफेसनल मिस एण्ड मिसेस युनिभर्सल नेपाल २०२६ सिजन ५ सौन्दर्यसँगै आत्मविश्वास, प्रतिभा, व्यक्तित्व र मौलिकताको उत्सवका रूपमा भव्यतापूर्वक सम्पन्न भएको छ। मिस र मिसेस दुवै विधामा गरी १९ जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिताले बाह्य सौन्दर्यभन्दा पर व्यक्तित्व, प्रतिभा, आत्मविश्वास र प्रस्तुतिको विविध पक्षलाई उजागर गरेको थियो। प्रतियोगितामा प्लाटिनम विजेता सौर्य सरला श्रेष्ठले मिस युनिभर्सल नेपाल २०२६ को ताज पहिरिन सफल भइन्। उनले पब्लिक च्वाइस, मिस कन्गेनियालिटी तथा ट्यालेन्टको उपाधि समेत जित्दै यस सिजनकी सर्वाधिक चर्चित र सफल प्रतियोगीका रूपमा आफ्नो स्थान स्थापित गरिन्।

मिसेस विधातर्फ बिना लिम्बूले मिसेस युनिभर्सल नेपाल २०२६ प्लाटिनमको उपाधि जितिन्। उनले मिसेस फोटोजेनिकको उपाधिसमेत हात पारिन्। रोजी थापाले मिसेस युनिभर्सल नेपाल २०२६ डायमन्डको उपाधि जित्दै बेस्ट वाक र मिसेस ट्यालेन्टको अवार्ड पनि प्राप्त गरिन्। त्यसैगरी अनुसूया श्रेष्ठले मिसेस युनिभर्सल नेपाल २०२६ गोल्डको उपाधि हासिल गरिन् भने उनलाई मिसेस इन्टेलेक्चुअलको सम्मान पनि प्रदान गरियो। पूजा बीकेले मिसेस युनिभर्सल नेपाल २०२६ सिल्भरको उपाधि जितिन्। प्रतियोगिताप्रतिको निरन्तर समर्पण, लगनशीलता र सक्रिय सहभागिताका लागि उनलाई मोस्ट डेडिकेटेडको उपाधिले समेत सम्मानित गरियो। दर्शकको विशेष रोजाइमा पर्न सफल सीता पोखरेलले पब्लिक च्वाइसको उपाधि प्राप्त गर्नुका साथै मोस्ट कन्फिडेन्ट मिसेसको सम्मान पनि हासिल गरिन्।

स्पार्कल इन्टरटेन्मेन्टको ब्यानरमा नितु श्रेष्ठको आयोजनामा सम्पन्न प्रतियोगिता काठमाडौंको तीनकुनेस्थित रोयल म्याजेस्टिक इभेन्ट्स एण्ड रेस्टुरेन्ट प्रा.लि.मा आयोजना गरिएको थियो। कार्यक्रमको प्रोजेक्ट चेयरपर्सन प्रेमबहादुर कार्की रहेका थिए। प्रतियोगिताले सहभागीहरूलाई केवल सौन्दर्य प्रदर्शनको अवसर मात्र नदिई आफ्नो व्यक्तित्व, प्रतिभा, आत्मविश्वास र विशिष्ट पहिचान प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको थियो। कार्यक्रमको सम्पूर्ण कोरियोग्राफी तथा सञ्चालन चर्चित फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्यले गरेका थिए। रनवे प्रस्तुतिदेखि ट्यालेन्ट, व्यक्तित्व र आत्मविश्वासमा आधारित विभिन्न चरणसम्म प्रतियोगीहरूले आफ्नो क्षमता र मौलिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगिताको मूल्याङ्कनका लागि उषा खड्गी, एनके शरद, सुरज गराच, राजेश घिमिरे र प्रवण भुसाल सम्मिलित प्रतिष्ठित निर्णायक मण्डल रहेको थियो। त्रिप्ती नाडकरले चीफ जुरीको भूमिका निर्वाह गरेकी थिइन्। निर्णायकहरूले प्रतियोगीहरूको समग्र प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, स्टेज प्रेसन्स, प्रस्तुतीकरण क्षमता तथा व्यक्तिगत विशेषतालाई आधार बनाएर मूल्याङ्कन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय