Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

नेपाली पुरुष मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा नयाँ अध्याय थप्दै म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ का विजेता शशांक शाही विश्वकै प्रतिष्ठित पुरुष सौन्दर्य तथा व्यक्तित्व प्रतियोगिता म्यानहण्ट इन्टरनेशनल २०२६ को २४औँ संस्करणमा नेपालका तर्फबाट सहभागि हुन श्रीलंका पुगेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा सेप्टेम्बर ३ देखि ९, २०२६ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा शशांकले नेपालको प्रतिनिधित्व गरेका हुन् । विश्वका तीन दर्जन बढी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको यस अन्तर्राष्ट्रिय प्रतियोगिताले पुरुष मोडलिङलाई केवल बाह्य सौन्दर्यमा सीमित नराखी व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, प्रस्तुति क्षमता, राष्ट्रिय संस्कृति र सामाजिक चेतनाजस्ता विविध पक्षलाई समेत प्राथमिकता दिने अन्तर्राष्ट्रिय मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यही विश्वमञ्चमा म्यानहन्ट इन्टरनेसनल नेपाल २०२६ को विजेताका रुपमा शशांकले नेपाली युवाको क्षमता, आत्मविश्वास र मौलिक पहिचान प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन् ।

शशांक गत मे १६, २०२६ मा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.इ.इ.को आयोजनामा सम्पन्न म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ का विजेता हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको तयारीका क्रममा व्यक्तित्व प्रस्तुति, शारीरिक भाषा, आत्मविश्वास, मञ्चीय प्रस्तुति तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणलाई ध्यानमा राख्दै उनको प्रशिक्षण भएको थियो । शशांकको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवश्यक सम्पूर्ण तयारी, समन्वय तथा व्यवस्थापन ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले गरेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक विभिन्न पक्षमा उनले अनुभवी प्रशिक्षक अजय गुरुङ को मार्गदर्शनमा प्रशिक्षण लिएका हुन् । विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्दा शशांकको पहिरन र प्रस्तुतीकरणलाई पनि विशेष महत्व दिइएको छ । उनको अन्तर्राष्ट्रिय वार्डरोबलाई फेसन डिजाइनर सोनम सुब्बा लिम्बुले विशेष रूपमा क्युरेट गरेका छन् । औपचारिक अवसर तथा प्रतिस्पर्धात्मक प्रस्तुतिका लागि आवश्यक सुटहरू एम्पायर कलेक्सनले उपलब्ध गराएको छ ।

त्यसैगरी, नेपाली सांस्कृतिक सौन्दर्य र राष्ट्रिय मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले विशेष पहिरनहरू फेसन डिजाइनर सरिता थापा मगर तथा श्यारोन कुट्युरले तयार गरेका छन् । यी पहिरनमार्फत नेपाली डिजाइन, शिल्प, सौन्दर्यबोध र सांस्कृतिक पहिचानलाई आधुनिक अन्तर्राष्ट्रिय फेसनसँग जोड्ने प्रयास गरिएको छ । शशांकको सहभागिताले नेपाली पुरुष मोडलिङ तथा पेजेन्ट क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग थप नजिक ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय