नेपालले काठमाडौंमा सम्पन्न भव्य ग्रान्ड फिनालेमार्फत अन्तर्राष्ट्रिय पेजेन्टका लागि दुई नयाँ राष्ट्रिय प्रतिनिधि चयन गरेको छ। प्रयास्ना गुरुङले मिस युनिभर्स नेपाल २०२६को ताज पहिरिँदा झापाकी बिनिता ओलीले मिस अर्थ नेपाल २०२६को उपाधि हासिल गरिन्। द सोल्टी काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपाल तथा नेपाली डायस्पोराबाट सहभागी ११० प्रतिस्पर्धीमध्ये छनोट भएका १४ फाइनलिस्टले प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
२४ वर्षीया प्रयास्ना गुरुङ, बेलायतमा बस्दै आएकी नेपाली युवती हुन्। अब उनले ७५औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्। आगामी नोभेम्बर २४, २०२६ मा पोर्टो रिकोको सान हुआनस्थित Coliseo de Puerto Rico José Miguel Agrelotमा हुने अन्तर्राष्ट्रिय फिनालेमा उनी विश्वभरका प्रतिनिधिसँग प्रतिस्पर्धामा उत्रिनेछिन्। पेजेन्टबाहेक गुरुङ महिला सशक्तीकरणसँग सम्बन्धित ‘द डिग्निटी प्रोजेक्ट’मार्फत उद्यमशीलता, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा व्यावहारिक सीपसम्बन्धी पहलमा सक्रिय छिन्।

२७ वर्षीया बिनिता ओलीले भने मिस अर्थ नेपालको ताजसँगै आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई अर्को आयाम दिएकी छन्। झापाकी ओलीले यसअघि कुवेत एयरवेजमा केबिन क्रुका रूपमा केही वर्ष अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी थिइन्। हाल मनोविज्ञान अध्ययनरत उनी भविष्यमा थेरापिस्ट तथा सामाजिक अभियन्ता बन्ने लक्ष्य राख्छिन्। अब उनले फिलिपिन्समा आयोजना हुने मिस अर्थ २०२६मा नेपालको प्रतिनिधित्व गर्दै वातावरणीय चेतना र सामाजिक उत्तरदायित्वसँग जोडिएको अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउनेछिन्।

२०२६ को संस्करण ग्लोबल ग्ल्यामर भेन्चर प्रा.लि.को आयोजनामा सम्पन्न भएको हो, जसकी नेसनल डाइरेक्टर संगिता पुरी हुन्। प्रतियोगिता DEEPALद्वारा प्रस्तुत गरिएको थियो भने प्रशान्त ताम्राकारले कोरियोग्राफीको नेतृत्व गरेका थिए। यसरी काठमाडौंको र्याम्पबाट सुरु भएको नयाँ अध्यायसँगै प्रयास्ना गुरुङ र बिनिता ओलीले नेपालको सौन्दर्य, आत्मविश्वास, प्रतिभा र समकालीन आकांक्षालाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय पेजेन्ट मञ्चमा प्रस्तुत गर्ने यात्रा सुरु गरेका छन्।


