काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।


