काठमाडौँ, भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा सहकार्यका विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उद्धार टोली तथा राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरे। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला टेलिफोनमार्फत व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद दिए।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासमा भारतसँग गर्न सकिने सहकार्यबारे पनि चासो व्यक्त गरेका थिए।
जवाफमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय पक्षले तयारी तीव्र पारेको जानकारी गराए।
उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनसम्बन्धी द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको विषयमा पनि जानकारी दिए।
यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र उक्त मार्गमा रेलको परीक्षण सञ्चालनसमेत गरिएको मिस्रीले जानकारी गराएका छन्।


