शव्द/तस्बिरहरु सौजन्य :मौसम दाहाल
१० माघ । जहाँ हिउँ, त्यहाँ नेपाली पर्यटक । पछिल्ला समयमाले त्यही देखाइरहेको छ । दामन, चन्द्रागिरि, कालिञ्चोकलगायत ठाउँमा हिउँ पर्दा आन्तरिक पर्यटकको ठुलै जमघट हुन्छ । हिउँ पर्यटनको एउटा विशेषता नै भइसकेको ।
त्यही मध्यको एक दोलखाको कालिञ्चोक पनि महत्वपर्ण क्षेत्र हो । अघिपछि पुजाआजाका लागि पुग्ने गरिएपनि चिसो मौसममा यहाँ पुग्ने मध्य अधिकांशको उद्देश्य नै हिउँमा रमाउनु रहेको हुन्छ । अहिले यहाँ यस्तै भइरहेको छ ।
दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिँउ परेसँगै पर्यटकको घुइँचो लागेको छ। दोलखा सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरतर्फ रहेको कालिञ्चोक मन्दिरमा यतिबेला अन्तरिक र बाह्य पर्यटकको भीड बाक्लो छ।

दोलखाको उच्च भागमा केही दिनदेखि हिमपात भइरहेको छ। राजधानी काठमाडौंबाट नजिकै रहेका कारण र यातायातको सहज पहुँच भएकाले दैनिक हजारौँ आन्तरिक पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेका छन्। यस क्षेत्रबाट हिँउसँगै गौरीशङ्कर हिमाल, चरिकोट बजार, च्छोरोल्पा हिमताल, जटा पोखरी, जिरी बजार, दोलखा भीमसेन, शैलुङ्गेश्वर महादेवलगायत स्थानहरुको मज्जैले दृश्यावलोकन गर्न सकिन्छ।

हिउँ खेल्न र मन्दिर दर्शन गर्न भारतीय पर्यटकसमेत आउने गरेको एक स्थानीयले बताए। पर्यटकहरु पहिलो दिन कुरी गाउँमा गएर बस्ने र भोलिपल्ट मन्दिर दर्शन गरी फर्कने गर्दछन। कुरी क्षेत्रमा करिब १०० होटलहरु पर्यटकहरुलाई सुबिधा प्रदान गरिरहेका छन्। आठ सयदेखि तीन हजार रुपैयामा एउटा कोठा बुक गर्न सकिन्छ।

तीन हजार ८४२ मिटरको उचाइमा रहेको यस क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्दछ। स्की खेलका लागि पनि पर्यटकहरु कालीञ्चोक क्षेत्रमा पुग्ने गरेका छन्।
काठमाडौंबाट करिब १४० किलोमिटरको यात्रापछि दोलखा कालिञ्चोक पुग्न सकिन्छ। काठमाडौं, भक्तपुर, धुलिखेल, पाँचखाल, दोलालघाट, सुकुटे, खाडीचौर, मुढे, खरिढुंगा, देउराली हुदै कालिञ्चोक पुग्न सकिन्छ। हिमपातको समयमा देउरालीसम्म मात्र गाडी पुग्ने गर्दछ।











