तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
छात्रवृत्ति प्रदान गर्न थालेपछि छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । “हामीले पिछडिएको, अति गरिब छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ”, कलेजका प्रमुख वसन्त आचार्यले भन्नुभयो, “त्यसले गर्दा अहिले प्राविधिक शिक्षा पढ्ने छात्राहरुको सङ्ख्यामा वृद्धि भएको हो ।”
प्राविधिक शिक्षा पढ्ने छोरीहरुको चाहनालाई पूरा गर्न छात्रवृत्तिको व्यवस्था गरेको कलेज प्रमुख आचार्यले बताउनुभयो । सामुदायिक विद्यालयबाट एसइई गरेका उपमहानगरपालिकाभित्रका छात्राहरुलाई निःशुल्क प्राविधिक विषयको अध्यापन गराउन थालेको उहाँको भनाइ छ । अहिले शिक्षालयमा डिप्लोमा तहका विभिन्न १० वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । हालसम्म ६४२ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । तीमध्ये २१७ जनाले निःशुल्क रुपमा अध्ययन गरिरहेका छन् ।
आफूहरु यसरी छात्रवृत्तिमा पढ्न पाउँदा खुसी भएको रुकुमकी एरिका सुनारले बताउनुभयो । उहाँले कानुन विषयमा अध्ययन गरिरहनुभएको छ । कलेजमा अहिले बाहिरी जिल्लाबाट पनि विद्यार्थी आउने गरेका छन् । अहिले २५ जिल्लाबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन् । शिक्षालयको भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २० करोडभन्दा बढीको काम भइरहेको छ ।


