काठमाडौं, नेकपा (माओवादी केन्द्र) ले भोलि (मंगलबार) का लागि स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले भोलिको संसद वैठकअघि नै स्थायी कमिटी वैठक बोलाएको हो ।
बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने स्थायी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
यसअघि फागुन १ र २ मा केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको थियो । नेकपा माओवादी केन्द्रले ओली सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता आउन पत्र पठाइसकेको छ । पार्टीको निर्देशन पालना नगरिए कारवाही प्रक्रियामा जान वाध्य हुने समेत जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुनको लागि यसअघि नै अल्टिमेटम दिइसकेको छ ।
यस्तै माओवादी छोडेर एमालेतिर लागेकाहरुलाई स्पष्टीकरण पनि सोधेको थियो । तर, अहिलेसम्म कोही पनि एमालेबाट फर्किएका छैनन् ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार भए पनि जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएकोले रोकिएको छ ।


