Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाउनुभएको थियो । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उहाँहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले गत फागुन २३ गते मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ । नेता नेपाललगायत नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिनुभएको थियो ।

एमाले ब्युँतिएपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनयन गरिएको भनी नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ । नेपाल समूहले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय