Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ ।

गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।

काठमाडौँका उपत्यकाका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताउनुभयो । “केही साना समूह देखिएका छन्, ठूलो भिडभाड हुन नदिन प्रहरीले निरुत्साहित गरिरहेको छ”, कँुवरले राससलाई भन्नुभयो, “विगतका वर्षमा भन्दा निक्कै कम देखिएको छ ।”

विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देशसमेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।

पश्चिम नेपाल घर भई काठमाडौँ बस्दै आउनुभएका पदमराज जोशीले आफ्नै घरपरिवारका साथ होली मनाएको बताउनुभयो । “कोभिड–१९ को जोखिम बढेको छ, समूहमा होली नखेल्न सरकारले अनुरोध गरेको छ, त्यसैले घर परिवारमै गीतसङ्गीतका साथ होली मनाएका हौँ”, जोशीले भन्नुभयो ।

यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । दिन भड्किँदै जाँदा अझै जमात बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय