Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ, २२ कात्तिक : अछामकी सकुन्तला भण्डारी दसैँतिहार जत्तिकै महत्व र उत्साहका साथ छठ मनाउनुहुन्छ । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्वको विधि हुबहु नआए पनि उहाँ तराई निवासी सखीसँग सिक्दै हुनुहुन्छ ।

गत वर्षझैँ, उहाँले यो वर्ष पनि छठमा व्रत बस्न लाग्नुभएको हो । “सुरुको वर्ष केही आउँदैन थियो, साथीले सामान किन्न सघाउँदा सजिलो भयो । अहिले पनि उसैले साथ दिएकी छे”, उहाँले भन्नुभयो । तराईमा मनाइने छठ पर्व पछिल्ला केही वर्षयता सबै समुदायको साझा बन्दै गएको छ ।

बानेश्वर घर भएकी जमुना तन्डुकार छठ पर्व रमाइलोका लागि मात्रै नभई धार्मिक र स्वास्थ्यका हिसाबले सही भएको बताउनुहुन्छ । सूर्यको पूजा गर्ने संस्कृतिले छठ पर्वप्रति उहाँ विशेष आकर्षित हुनुभएको हो । त्यसैले विगत तीन वर्षदेखि निरन्तर छठ मनाउने गरेको उहाँले सुनाउनुभयो । अहिले घरका सबैले छठमा व्रत बस्न थालेको उहाँले बताउनुभयो । “पर्व जुन समुदायले मनाउने भए पनि राम्रो कुराको सबैले अनुशरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “प्रकृति पूजा आराधना गरिने छठ पर्व सबैले मनाउनुपर्छ भन्ने लाग्यो र मनाउन थालेँ ।”

ललितपुरकी मायादेवी थापाले छठ पूजा गर्ने सामग्री माटोबाट बनाइएको कलश, दियो, हात्ती तथा बाँसको चोयाबाट बुनिएका नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीजस्ता परम्परागत भाँडाकुँडा किनेर छठको समापन गर्ने तयारीमा हुनुहुन्छ । सर्लाही घर भएकी थापाकी सङ्गिनी मनिषा साहले छठका सामग्री जुटाउन सघाउनुभयो । पर्व मनाउने प्रक्रियामा थापासँग एकआपसबीच आत्मीयता र मित्रवत् सम्बन्ध विस्तार भएको उहाँले बताउनुभयो । “मैले उहाँलाई पूजा गर्न सहयोग गर्दागर्दै धेरै मिल्ने भएछौँ”, साहले भन्नुभयो, “पर्वको रमाइलो सँगै मिल्ने साथी बनेकामा खुसी छौँ ।”

काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् । छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व उत्साह र भक्तिभावका साथ मनाइन्छ ।

संस्कृतविद् धीरेन्द्र प्रेमर्षीका अनुसार छठ पर्वको परम्परागत परिकल्पना नै समाजको साझा पर्व बनाउनु हो । जसरी सूर्यको प्रकाश प्रत्येक वनस्पति, जीव, व्यक्ति वा प्राणीलाई समान उपलब्ध भए जस्तै यसमा छठ हरेक समुदायको समान पर्व रहेको उहाँले बताउनुभयो ।

छठ पर्वले कुनै पनि जात र समुदायमाथि विभेद नगर्ने उहाँको भनाइ छ । पछिल्लो समय मान्छेहरु रोजगार, शिक्षा र सुविधाको खोजीमा छरिन थाले । जसले गर्दा छठ पर्व मनाउनेहरुको क्षेत्र विस्तार हुँदै गएको प्रेमर्षीले बताउनुभयो । उहाँले भन्नुभयो, “छठ पर्व प्रकृतिको पूजा हो, त्यसैले यो सबैको साझा बन्दै गएको छ ।”


फोटो ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय