काठमाडौं, गीतकार नारायण खतिवडाले लेखेको नयाँ गीत ‘जमाना आजकल’ हालै सार्वजनिक भएको छ । गीतले शीर्षककै झल्को दिनेगरी समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।
सांस्कृतिक मूल्य र पहिचानको बहस
गीतमा सामाजिक मूल्य–मान्यताको परिवर्तनलाई चिरफार गरिएको छ । विशेषगरी नेपाली परम्परागत पोशाक जस्तै दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया आदि आधुनिक फेसनका कारण विस्थापित हुँदै गएको विषय उठाइएको छ ।
‘दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो’ वा ‘गुन्यू चोली फरिया फेसनले डाँडो कटायो’ जस्ता पंक्तिले केवल लुगाको कुरा मात्र नभई मौलिकता र सांस्कृतिक पहिचानको संकटलाई प्रतिबिम्बित गर्छन् ।
हराउँदै गएका लोक वाद्य र संस्कृतिप्रति संकेत
गीतका शब्द ‘ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैजडी र डम्फू हरायो’ ले परम्परागत वाद्ययन्त्र र लोकसंस्कृतिको हराउँदै गएको अवस्थालाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन् । यसमार्फत् ऐतिहासिक कला र संस्कृतिलाई बचाउनुपर्ने सन्देश दिन खोजिएको छ ।
स्वर, संगीत र भिडियो
गीतलाई मनोज सङ्सोन राईले संगीत तथा एरेन्ज गरेका छन् । स्वरमा मनोज सङ्सोन राईसँगै सुरेश पायल राई र बिनुसा राईको समेत आवाज रहेको छ । भिडियोमा सहारा, राहुल, अस्मिता, मिरा र महेश्वरलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक
‘जमाना आजकल’ लाई नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत् प्रमुख अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा सार्वजनिक गरिएको हो । गीतले संस्कृति, पहिचान र मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिने प्रयास गरेको छ ।


