नेपालीहरूको महान् चाड बडादशैंको उल्लासमय वातावरणमा फेसन, संगीत र मनोरञ्जनको सङ्गमका रूपमा ‘दशैं आयो फेस्टिभ रनवे २०८३’ भव्यताका साथ सम्पन्न भएको छ। कासा लाउन्जको प्रस्तुति तथा दि रेम्प फेसन एन्ड मोडलिङ एजेन्सीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमले दशैंको उत्सवलाई फेसन र सांगीतिक प्रस्तुतिमार्फत थप रङ्गीन बनाएको थियो।
सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर जथन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न फेसन शोमा करिब एक दर्जन मोडलले डिजाइनरद्वय प्रजु मुखिया र संगीना मुनिकारद्वारा तयार पारिएका आकर्षक तथा ग्ल्यामरस पहिरनमा र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए।

मोडल तथा गायिका रमिता भण्डारीको सो ओपनिङबाट सुरु भएको ‘फेस्टिभ रनवे’मा ‘फेस अफ नेपाल २०२६’का विजेताद्वय आयस्ता जोशी र अनिषा श्रेष्ठले सिक्वेन्स ओपनरका रूपमा र्याम्पमा क्याटवाक गर्दै दर्शकको ध्यान आकर्षित गरेका थिए। त्यसपछि क्रमशः फेसन शोका विभिन्न सिक्वेन्स प्रस्तुत गरिएका थिए। कार्यक्रममा प्राध्यापक तथा नेपालकी पहिलो कस्मेटोलोजिस्ट परिशी कारणजित, ब्युटिसियन एवं समाजसेवी निकिता पाण्डे र ‘ग्ल्याम मोडल भोग सिजन ३’की विजेता सन्ध्या श्रेष्ठले अतिथि मोडलका रूपमा र्याम्पमा आकर्षक प्रस्तुति दिएका थिए। चारवटा सिक्वेन्समा विभाजित फेसन शोको समापन कलाकार तथा मोडल दिक्पाल कार्कीको सो स्टपर प्रस्तुतिसँगै भएको थियो।

फेसन शोको समापनपछि चर्चित गायक धीरज राईले आफ्ना तीन लोकप्रिय गीतमार्फत दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी, पूर्वनायिका, मोडल तथा गायिका पूजा लामाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाउनुका साथै नाच्नसमेत उत्साहित गरेकी थिइन्। दशैंको उल्लासमय माहोलबीच आयोजित कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

फेसन, संगीत र मनोरञ्जनलाई एउटै मञ्चमा समेटिएको उक्त कार्यक्रमको सञ्चालन निकिता आचार्यले गरेकी थिइन् भने इभेन्ट कोअर्डिनेसनको जिम्मेवारी सुमित्रा श्रेष्ठले सम्हालेकी थिइन्।
हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको कासा लाउन्जले यसपटकको सफल आयोजनाबाट थप हौसला प्राप्त गरेको जनाएको छ। कासाका राम प्यारा श्रेष्ठका अनुसार आगामी वर्ष कार्यक्रमलाई अझ व्यापक र भव्य स्वरूपमा आयोजना गर्ने योजना रहेको छ।

‘फेस्टिभ रनवे २०८३’मा रुश्का मेकअप स्टुडियो आधिकारिक मेकअप पार्टनरका रूपमा आबद्ध थियो भने सिल्क हेयर, बीएमडब्लू अल्टिमेट प्रोफेसनल र मामा मुल्मीले कार्यक्रमलाई सहयोग गरेका थिए। दशैंको सांस्कृतिक उल्लासलाई आधुनिक फेसन र सांगीतिक मनोरञ्जनसँग जोड्दै कार्यक्रमले उत्सवमय वातावरणमा दर्शकलाई फरक अनुभव प्रदान गरेको थियो।

