फेस अफ जुनियर मोडलको दोस्रो संस्करणले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा युवा प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता र आकर्षक प्रस्तुतीकरणको उत्साहपूर्ण संगम प्रस्तुत गरेको छ। फेसन, प्रदर्शन कला र व्यक्तित्व विकासलाई केन्द्रमा राखिएको प्रतियोगितामा विभिन्न उमेर समूहका उदीयमान प्रतिभाहरूले आफ्नो क्षमता, आत्मविश्वास र मञ्चीय प्रस्तुतीमार्फत दर्शक तथा निर्णायकको ध्यान आकर्षित गरे। जुनियर महिला विधातर्फ परिशा लामा विजेता घोषित भइन्। उनले विजेताको उपाधिसँगै मोस्ट पपुलर, बेस्ट वाक र बेस्ट डान्सको उपाधि समेत आफ्नो नाममा पार्दै प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाइन्। रिजना तामाङ फर्स्ट रनर–अप, अलिशा आचार्य सेकेन्ड रनर–अप तथा दिवा डंगल थर्ड रनर–अप घोषित भए। सरुना तामाङले पब्लिक च्वाइसको उपाधि प्राप्त गर्दा जेनिशा के.सी. मोस्ट ट्यालेन्टेड घोषित भइन्।

पुरुष विधामा शुभम विश्वकर्मा विजेता बने। उनले मोस्ट पपुलर तथा बेस्ट सिङ्गिङको उपाधिसमेत हात पारे। पेमा नोर्बु लामा फर्स्ट रनर–अप तथा सुमिन सुश्लिङ मगर सेकेन्ड रनर–अप घोषित भए। मर्लिन तामाङले पब्लिक च्वाइसको उपाधि प्राप्त गर्दा जिरन रत्न शाक्य मोस्ट ट्यालेन्टेड घोषित भए।

त्यस्तै, सिनियर महिला विधातर्फ सन्ध्या श्रेष्ठ विजेता बनिन्। उनले बेस्ट डान्स तथा मिस प्रेस्टीजको उपाधिसमेत प्राप्त गरिन्। अलिन लिम्बू फर्स्ट रनर–अप, युनिक राई सेकेन्ड रनर–अप तथा अञ्जिला थेङ थर्ड रनर–अप घोषित भए। डोल्मा तामाङले मोस्ट पपुलर, युनिक राईले पब्लिक च्वाइस तथा समृद्धि राजभण्डारीले मोस्ट ट्यालेन्टेडको उपाधि हासिल गरे।

सबिना श्रेष्ठको नेतृत्वमा ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतियोगिताले नयाँ पुस्ताका मोडलिङ प्रतिभालाई आफ्नो क्षमता र व्यक्तित्व अभिव्यक्त गर्ने सशक्त मञ्च प्रदान गरेको थियो। प्रतियोगिताले बाह्य सौन्दर्यमा मात्र सीमित नभई आत्मविश्वास, व्यक्तित्व, प्रस्तुतीकरण, प्रतिभा, अनुशासन र मञ्चीय प्रभावकारितालाई समेत प्राथमिकतामा राखेको थियो। कार्यक्रमको शुभारम्भ सन्दीप भुजेलको कोरियोग्राफीमा प्रस्तुत गरिएको ऊर्जाशील उद्घाटन नृत्यबाट भएको थियो। प्रतियोगिताको समग्र कोरियोग्राफी सुमी बानियाँले सम्हालेकी थिइन्, जसले प्रतियोगीहरूको र्याम्प प्रस्तुती, चालढाल र सामूहिक प्रदर्शनलाई आकर्षक तथा व्यवस्थित स्वरूप प्रदान गरिन्। कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्यले गरेका थिए। उनको अनुभवी प्रस्तुतीले कार्यक्रमलाई सहज, सुसंगत र व्यावसायिक प्रवाह प्रदान गरेको थियो। सहभागिहरु अस्मिता श्रेष्ठले तयार पारेको डिजाइनर वेयरमा प्रतिस्पर्धाको मंचमा प्रस्तुत भएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता तथा मोडल सरज गराच, फेसन एराका प्रमुख कार्यकारी अधिकृत आनन्द सिंह, इन्फिनिटी एड्भर्टाइजिङ प्रा.लि.का कार्यकारी निर्देशक इन्द्र श्रेष्ठ, मोडल तथा फेसन कोरियोग्राफर अलिशा, शंकर तथा मोडल एवं मिडिया व्यक्तित्व डा. जिशु कोइराला रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको आत्मविश्वास, व्यक्तित्व, र्याम्प वाक, प्रतिभा, प्रस्तुतीकरण तथा समग्र मञ्चीय प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेका थिए।



