जनकपुरदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रा तय गर्दै नेपालकी सान्वी मण्डलले मिस वेलनेस वर्ल्ड २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो एशियाटिकमा २७ सेप्टेम्बरमा सम्पन्न ग्रान्ड फिनालेमा सान्वीले २५ भन्दा बढी देशका प्रतिनिधिलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन्।
‘ब्युटी विथ वेलनेस’ अवधारणामा आधारित प्रतियोगिताले बाह्य सौन्दर्यसँगै शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, आत्मविश्वास, स्वस्थ जीवनशैली र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको थियो। ‘बडी, माइन्ड एन्ड स्पिरिट’ अर्थात् शरीर, मन र आत्माको समन्वय यसको मूल दृष्टिकोण रहेको थियो।

सान्वीले यसअघि मिस नेपाल २०२५ मा जनकपुरको प्रतिनिधित्व गर्दै प्रतियोगी नम्बर १ का रूपमा सहभागिता जनाई शीर्ष १२ मा स्थान बनाएकी थिइन्। २२ वर्षीया सान्वी बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक हुन् भने नृत्य, फिटनेस, गायन, उद्यमशीलता तथा सामाजिक गतिविधिमा रुचि राख्छिन्। मिस नेपाल यात्राका क्रममा उनले ‘फेसेस अफ होप : ट्रान्सफर्मिङ लाइभ्स, वन स्माइल एट अ टाइम’ अभियानमार्फत विपन्न बालबालिकाको सहयोगमा केन्द्रित सामाजिक पहल अघि सारेकी थिइन्।

प्रतियोगिताको ‘हेल्थ टु वेल्थ’ अवधारणाले स्वास्थ्य र कल्याणलाई व्यक्तिगत जीवनस्तर तथा सामाजिक समृद्धिसँग जोडेको थियो। अन्तिम नतिजामा क्यानडाकी जेसिका लिनम, स्विट्जरल्यान्डकी न्योटा बोलोङ्गो, मोरक्कोकी सारा बहार र इटालीकी रेन्नारा भिटाले क्रमशः एमिनेन्स, प्रेस्टीज, प्रोमिनेन्स र डिस्टिङ्क्सन उपाधि प्राप्त गरे। सान्वीको उपलब्धिले नेपाली सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय यात्रामा स्वास्थ्य, सामाजिक चेतना र उद्देश्यपूर्ण प्रतिनिधित्वलाई जोड्ने नयाँ अध्याय थपेको छ।


