काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।
केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।
उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।
‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको प्रतिष्ठामा आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका हुन् ।


