Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

भक्तपुर, रंगिविरंगी कागजका टुक्राहरु । कुनै आकर्षक फूलहरु, कुनै उड्न खोज्ने पुतलीहरु, अनि कुनै डुंगा त कुनै कोठा सजाउने सामग्री ।

यो दृश्य भक्तपुरस्थित एक शिशु स्याहार केन्द्रको हो । जहाँ सजिएको कक्षाकोठामा केन्द्रका शिक्षिकाहरु ध्यान दिएर पढ्ने मात्रै होइनन्, कोठा सजावटका सामग्री बनाउन सिक्दै आएका छन् । शिक्षिकाहरुले खेर जाने कागजबाट आर्कषक सामग्री बनाउन सिक्ने मात्रै होइनन्, अक्षर अंकबाट कसरी चित्र बनाउन सकिन्छ भन्ने जानकारी पनि लिँदै आएका छन् ।

पालिकाले नगरभित्र ६ स्थानमा शिशु स्याहार केन्द्र सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीबाट नगरभित्रका केन्द्र सञ्चालन गर्न सक्ने अवस्था छैन । फुर्सदको समय सदुपयोग हुने भन्दै पालिकाले शिक्षिकाहरुलाई नै प्रशिक्षण गर्दै आएको हो । साना बालबालिकाको सजिएको कक्षामा केन्द्रका १२ जना शिक्षिका पढ्दै छन् ।

अतिरिक्त क्रियाकलापको कक्षा सञ्चालन गरेको पालिकाले शिक्षिकालाई खेर जाने पत्रिकाको आकर्षक सामग्री बनाउन, कार्वन पेपरको आकर्षक सामग्री बनाउन, बालगीतमा मादल बजाउन, अंक र अक्षरबाट चित्रहरु बनाउन, मोटिभेसन, बालखेल सिकाउँदै आएको छ । प्रशिक्षण पन्ध्र दिने रहेको पालिकाले जनाएको छ ।

फुसर्दको समय सदुपयोग हुनुका साथै साना नानीहरुको चौतर्फी विकासका लागि तालिम सञ्चालन गरेको पालिकाको बालविकास तथा शिशु स्याहार केन्द्रका प्रमुख दीपेन्द्र प्रजापतिले बताए । उनले बालबालिकाको मस्तिष्कमा जुन असर पार्न सक्यो त्यो पछिसम्म पर्ने भएकाले उनीहरूलाई विभिन्न क्रियाकलाय आवश्यक रहेको बताउँदै भने, ‘अहिले हामी शिक्षिकालाई सिकाउँछौँ । कक्षा सञ्चालन भएपछि बालकथा, बालकविता, बालगीत र खेल खेलाउन अहिले दिएको शिक्षा प्रयोग हुने छ ।’

प्रशिक्षणबाट बालबालिकाका लागि चाहिने धेरै कुरा सिकेको शिक्षिकाहरु बताउँछन् । शिक्षिका मिथु अवालले अहिले सिकेको सीपलाई बालबालिकाको क्षमता विकासमा प्रयोग हुने विश्वास व्यक्त गरिन् ।

जनप्रतिनिधि आएपछि फेरियो केन्द्रको मुहार

भक्तपुर नगरपालिकाले २०५६ सालदेखि शिशु स्याहार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको थियो । केन्द्रका लागि आवश्यक जनशक्ति पनि सोही बेला छनोट गरिएको थियो । तिै शिक्षिकाहरु आज पनि कार्यरत छन् । तर स्थानीय जनप्रतिनिधि आएपछि केन्द्रले मुहार फेरेको उनीहरु बताउँछन् ।

गोल्मढी केन्द्रका आयादिदी राजेश्वरी लवजुका अनुसार केन्द्रमा २२ वर्ष अगाडिदेखि आवद्ध भए पनि कुनै तालिम सञ्चालन भएको थिएन । सुरुवातमा केही तालिम सुरु भयो । त्यसको आधारमा काम गर्नुपरेको थियो ।

त्यो बेला एक केन्द्रमा ६० जना स–साना नानी हुन्थे । तर कर्मचारी दुई जना मात्रै। सबैलाई ध्यान दिने अवस्थै थिएन । त्यो बेला स–साना बालबालिकालाई केन्द्रमा सुताउने, खुवाउने, सफा गर्ने मात्रै थियो । बितेका दुई दशकलाई स्मरण गर्दै भनिन्, ‘हाल केन्द्रमा ४० जना बालबालिका र चारजना कर्मचारी राखिएको छ । भौतिक पूर्वाधारको विकास भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय