Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

सुधा देव/न्युज कारखाना

सप्तरी, सप्तरी राजविराज नगरपालिका- १ की ३३ वर्षीया रञ्जुदेवी राम छोराछोरीलाई उच्चशिक्षा दिनका लागि दिनरात खटिरहेकी छन् । उनका श्रीमान् मजदुरी गर्छन् । श्रीमती घरको काम र खेती गर्छिन् । तीन छोरी र एक छोरा गरी चार सन्तानकी आमा रञ्जु दिनभर काममा व्यस्त हुन्छिन् । अरूका छोराछोरी जस्तै आफ्ना छोराछोरीलाई पनि शिक्षादीक्षा दिन सके आत्मनिर्भर बन्न सक्नेमा उनी विश्वस्त छन् ।

‘हाम्रो जातको यहाँ ८० घरधुरी छ, २५० भन्दा बढी जनसंख्या छ । तर, यहाँ आफ्ना छोराछोरीलाई कसैले उच्चशिक्षा दिन सकेका छैनन् । एसईई पास गर्ने छोरीछोरीमा एक दर्जनभन्दा बढी छैनन्’, उनले भनिन् ।

शिक्षा र शिक्षित व्यक्तिको महत्त्वका विषयमा जानकारी नभएकाले छोराछोरीलाई शिक्षा दिनुपर्ने विषयमा जिम्मेवार नभएका उनको भनाइ छ । तर, छोराछोरीमा भेदभाव नगरी चारै जना सन्तानलाई उच्चशिक्षा दिने रञ्जुको इच्छा छ ।

१३ वर्षको उमेरमा विवाह गरेकी उनी १७ वर्षमा आमा बनेकी थिइन् । २० वर्षे वैवाहिक जीवन बिताइरहेकी रञ्जुले सुरुदेखि नै घर परिवारको जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनले छोराछोरी पनि एक्लै हुर्काउनुपर्ने बाध्यता भयो । आर्थिक अभावका कारण कति रात भोकभोकै सुत्नुपरेको पीडा उनले अहिलेसम्म बिर्सन सकेकी छैनन् ।

‘हाम्रो पालामा हाम्रो समुदायमा गाउँघरमा छोरीलाई कसैले पढाउँदैनथे, छोरीको जति छिटो विवाह गरिदिए, बोझ हल्का हुने बताउँथे । छोराछोरीमा समेत भेदभाव हुन्थ्यो । तर, अहिले पनि अवस्था फेरिएको छैन’, उनी भन्छिन् । शिक्षाको अभाव र बालविवाहका कारण आफूले भोगेको पीडा छोराछोरीले भोग्नु नपरोस् भनेर दिनरात परिश्रम गरिरहेको उनी बताउँछिन् ।

रञ्जुकै भोगाइ जस्तै स्थानीय ४० वर्षीया रामवती रामको पनि छ । रामवतीको आर्थिक अवस्था एकदमै कमजोर छ । तर, पनि उनी पाँच सन्तानलाई पढाउन जमर्को गरिरहेकी छन् ।

‘छिमेकमा छोराछोरीलाई नपढाएर उमेरै नपुगी विवाह गर्दा भोग्नुपरेको पीडा मैले नजिकबाट देखेकी छु । त्यस्तो मेरा छोराछोरीले पनि भोग्नुपरोस् भन्नेमा सचेत छु । उनीहरूको शिक्षाको अधिकार संरक्षणका लागि म जति पनि परिश्रम गर्न तयार छु’, १५ वर्षको उमेरमा विवाह गरेकी रामवतीले भनिन् । उनकी जेठी छोरी १०, माहिली नाै, कान्छी सात र छोरा तीन कक्षामा पढ्दै छन् । उनीहरूलाई उच्चशिक्षा नदिएसम्म जीवन सार्थक नहुने उनको भनाइ छ।

स्थानीय ३९ वर्षीया सुमित्रादेवी राम छ जना छोराछोरीकी आमा र तीन जना नातिनातिनाकी हजुरआमा हुन् । श्रीमान्‌ले एक्लै मजदुरी गरेर आठ जनाको परिवार पाल्न कठिनाइ भएकाले जेठी र माहिली छोरीको १६ वर्षको उमेरमा विवाह गरिदिएको सुमित्रा बताउँछिन् ।

चेतनाको अभावमा ३० वर्षीया सरितादेवी सरदारलाई पनि आमाबाबुले पढाएन् । उमेर नै नपुगी विवाह गरिदिए । उनी चार सन्तानकी आमा हुन् । उनले पनि आफ्ना सन्तानहरूलाई पढाउन दिनरात मजदुरी गरिरहेकी छन् ।

आर्थिक अवस्थाका कारणभन्दा पनि शिक्षाको महत्त्व नबुझेर अहिले पनि दलित समुदायले आफ्ना सन्तानलाई शिक्षादीक्षा नदिएका राजविराज नगरपालिका- १ मा रहेको महाकवि देवकोटा आधाभूत विद्यालयका प्रधानाध्यापक विक्रम झाको बुझाइ छ ।

उनी भन्छन्, ‘गरिबी भन्दा पनि पढाइको महत्त्व नबुझेर नै यहाँका दलित समुदाय उच्चशिक्षा हासिल गर्दैनन् ।’ आमामा बच्चालाई कुनै पनि हालतमा पढाउनुपर्छ भन्ने चेतना आएमा बालबालिका शिक्षितको पहुँचबाट टाढा नहुने सप्तरी जिल्लाकै पहिली शिक्षिका अवकासप्राप्त बच्ची मिश्रको भनाइ छ।

उनी भन्छिन्, ‘शिक्षाको महत्त्व के छ, शिक्षाले नै हाम्रो जीवनलाई सार्थक बनाउन सक्छ भन्ने कुरा आमालाई बुझाउन सक्यौँ भने बालबालिका शिक्षाबाट बन्चित हुँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय