Sunday 31 May 2026 / आईतवार, १७ जेष्ठ २०८३

चितवन, भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् ।

कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेका हुन् । उहाँले भन्नुभयो, “घर यहाँ भए पनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा जाने गरेका छौँ ।” नियमित औषधि पनि भरतपुरमा नगई गीतानगर जाने गरेको उहाँले बताउनुभयो ।

समाजको डर देखाउँदै उहाँले थप्नुभयो, “छोराछोरीको विवाह गर्नुछ, कसैले थाहा पाए भने भन्ने सधैँ मलाई पिरलो हुन्छ ।” गाउँमा लाटो फुस्रो दाग देखिएकालाई कुष्ठरोग परीक्षण गर्न जान सुझाउने भए पनि आफू र परिवारलाई भएको समस्याका बारेमा स्वास्थ्यकर्मीबाहेक अरुलाई नभनेको उहाँले बताउनुभयो । नाम गोप्य राख्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “अहिले औषधि खाँदा पनि समस्या आइरहन्छ, सुनेको छु, अब विस्तारै सधैँका लागि निको हुन्छ रे ।”

नौ वर्षीया नातिनीलाई समस्या देखिएपछि आफूलाई चिन्ता थपिएको उहाँको भनाइ छ । चिकित्सक स्वास्थ्यकर्मीले निको हुन्छ भनेकाले आफू ढुक्क रहेको उहाँको भनाइ छ । सङ्क्रमण देखिएकालाई बेलाबेलामा शरीरका ठाउँठाउँमा गाँठागुँठीसहितको घाउ आउने गरेको छ । औषधि खाएपछि निको हुने गरेको उहाँ बताउनुहुन्छ ।

रोगबाट क्षति व्यहोर्नु नपरोस् भनेर सधैँ आफू स्थानीयलाई जनचेतना जगाउने काममा सक्रियरुपमा लागेको उहाँ बताउनुहुन्छ । भरतपुर महानगरपालिका–१० का ५५ वर्षीय एक पुरुष पेसाले श्रमिक हुनुुहुन्छ । उहाँको हातको तीन वटा औँला कुष्ठरोगले गर्दा झरेको छ । ज्याला मजदुरी गर्ने उहाँलाई काम गर्ने ठाउँमा हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव छ । उहाँले भन्नुभयो, “जहाँ काम गर्न गयो, मानिस नजिक पर्न खोज्दैनन् ।”

श्रीमती र दुई छोरालाई ज्याला, मजदुरी गरेर पाल्दै आएको बताउने उहाँले परिवारका अन्य सदस्यलाई भने रोग नसरेको बताउनुभयो । समयमा उपचार नगराउँदा आफूले तीन वटा औँला गुमाउनु परेको बताउँदै उहाँले भन्नुभयो, “लाटो फुस्रो दाग देखिनेबित्तिकै परीक्षण गर्नुपर्ने रहेछ । मैले ढिलो गरेँ ।” तीन वटा औँला गुमाएको भए पनि नियमित काम भने गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि खान थालेपछि काम भने गरिरहेको छु ।” सबैलाई रोगका बारेमा नभनेको भन्दै उहाँले रोग थाहा पाउनेले हेर्ने दृष्टिकोण राम्रो नहुने गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुने र एकमात्रा बहुऔषधि सेवन गरेपछि ९९.९ प्रतिशत किटाणु निष्क्रिय भई अरुलाई नसर्ने उहाँले बताउनुभयो ।

कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । तिवारीले औषधि खाएकाबाट रोग नसर्ने भएकाले समाजले उहाँहरुप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शङ्का लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पनि विभिन्न शिविरमार्फत खोजी जारी राखेका छौँ, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।”

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाको परिवार एवं नजिक रहेर काम गरेकालाई औषधि खुवाउने काम भइरहेको बताउनुभयो । विसं २०५१ देखि हालसम्म एक हजार ७९१ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाको खोजी गरी औषधि खुवाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाइरहेको जानकारी दिनुभयो । जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए ।

यसैबीच कार्यालयले एक संक्षिप्त कार्यक्रम आयोजना गरी सङ्क्रमितलाई पौष्टिक खानेकुरा वितरण गरेको छ । सो अवसरमा पौष्टिक खानेकुराका साथै मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको थियो । सो अवसरमा छ जनालाई ती सामग्री वितरण गरियो । जिल्लाका सबै सङ्क्रमितलाई पालिकामार्फत पौष्टिक खानेकुरा पु¥याइने कार्यक्रम रहेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय