तुलसीपुर, कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ ।
कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा-दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ । ‘हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो’ स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भने, ‘त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौँ ।’


