आज भन्दा पन्ध्र वर्ष अगाडि मात्र एउटा सौन्दर्य प्रतियोगिता नभएर नेवार समुदायको मौलिक परंपरा, रितिरिवाज, भाषा, कला संस्कृतिलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य सहित साँस्कृतिक सचेतना जगाउने समय परिस्थिति सुहाउँदो आधुनिक आधारका रुपमा थालनी गरिएको साँस्कृतिक अभियानको स्वरुप हो मिस नेवाः । नेप्लीज फेसन होमको ब्यानरमा आयोजना हुँदै आएको यो प्रतियोगिता यतिखेर पन्ध्रौं संस्करणको अध्यायलाई मूर्त रुप दिने क्रममा अघि बढेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो फागुन ७ गते शुक्रबारका लागि तय गरिएको छ । पन्ध्रौं संस्करणका पन्ध्र प्रतिस्पर्धीहरु यतिखेर स्टेज प्रस्तुतिकरण, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायतको प्रतियोगिताको मूलभूत आधारहरुमा आफूलाई निखार्दैछन् । यो संगै मिस नेवाः आयोजनाको महत्वपूर्ण पक्षका रुपमा रहेको नेपाल भाषाको सिकाई, नेवार समुदायको गौरवमय सास्कृतिक पक्षसित पनि साक्षात्कार हुँदैछन् । 
स्वाद र परिकारमा धनी मानिएको नेवार समुदायको विशेष परिकारका रुपमा लिइएको योमह्रीको मिठास र महत्वलाई नजिकबाट बुझ्ने क्रममा मिस नेवाःका प्रतिस्पर्धीहरुले योमह्री बनाउने विधिलाई सिक्ने र बुझ्ने देखि बनाउने कार्यलाई प्रतियोगिताका प्रशिक्षणकै क्रममा गति दिइसकेका छन् । नेवारी मौलिक परंपराको पहिचानका रुपमा रहेको मौलिक भेषभुषामा सजिएर फोटोसुटमा रमाएका प्रतिस्पर्धीहरुले रंजना लिपी सिक्ने अवसर पनि प्राप्त गरेका छन् । रंजना लिपी सम्बन्धी विशेष क्यालीग्राफी वर्कशप संचालन गरिएको थियो ।
यसैवीच प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै महाँकाल मन्दिरमा लाख बत्ती बालेका छन् भने उनीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरेका छन् । मौलिक परंपरा अनुसार पूजा सामाग्री तयार पार्ने देखि लिएर पूजा गर्ने विधि सम्बन्धी पनि साक्षात्कार भएका मिस नेवाः सहभागिहरुले आफूलाई आवरणीय रुपमा निखार्ने सौन्दर्य कलाबारेमा पनि ज्ञान प्राप्त गरिसकेका छन् भने कार्यक्रमको अफिसियल वार्डरोब पार्टनरका रुपमा रहेको आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनरहरुबाट आफ्ना लागि फाइनल प्रतिस्पर्धाको पहिरन तयार गर्न सहकार्य गरिसकेका छन् । 


