आज बृहत् सभा हुँदै, यस्तो छ तयारी
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।
“अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश, विकासको निरन्तरता !” भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ ।
नेकपा बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताउनुभयो ।
सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मन पराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’ पोखरेलले भन्नुभयो ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ। जुलुस तथा सभा व्यवस्थापनका लागि २ हजार स्वयम सेवक खटाइएको पोखरेलले बताउनुभयो ।

यस्तो छ जुलुसको रुट
मंगलबार सार्वजनिक गरिएको रुटअनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा,विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ ।
महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।
त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।
पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।
टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।


