Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताउनुभयो ।

नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताउनुभयो । “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।” उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ ।”

नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भन्नुभयो, “कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।”

उहाँले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने बताउनुभयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी नेता नेम्वाङको थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसद्मा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय