Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

चितवन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”
प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उहाँले प्रधानमन्त्री हुनबाट उहाँलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”
पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैँ ।” एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उहाँले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताउनुभयो । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा बाँचुञ्जेल रहने पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय