कोभिड १९ र यसको प्रभाव पश्चात् तपाईले जीवनको के महत्वपूर्ण पाठ सिक्नुभयो भन्ने निर्णायक प्रश्नमा, ‘कोभिड १९ पछि मैले जीवनमा सिकेको महत्वपूर्ण पाठ भने हामी सधैं जीवनमा आइपर्ने कुनै पनि चुनौतिको सामना गर्न सदैव तयार रहनुपर्छ । संगै सरकार तथा हरेक व्यक्ति आर्थिक रुपमा सक्षम अवस्थामा रहनुपर्दछ भन्ने सिकाएको छ कारण आर्थिक अवस्था अत्यन्त महत्वपूर्ण पाटो हो र यदि हामी यसबारे सजग भएर आर्थिक रुपमा सुरक्षित रहन सकेमा जीवनको जस्तो सुकै परिस्थितिमा पनि अगाडि बढ्न सहजता प्राप्त हुन्छ ।’ भन्ने उत्तर दिएर नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै सर्वाधीक नगद पुरस्कार राशी तथा हालसम्मकै सबैभन्दा बढी मूल्य पर्ने ताज पहिरिने सौभाग्य जुरेको छ, २३ वर्षिया अंशिका शर्मालाई ।
गत डिसेम्बर ३० तारिखको साँझ काठमाडांै नक्साल स्थित काठमान्डू मेरियट होटलमा भव्य रुपमा आयोजना गरिएको मिस युनिभर्स नेपाल २०२० मा आफ्नो १७ प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल अंशिकाले अपाला ज्वेल्सले तयार पारेको पन्ध्र लाख नेपाली रुपैंया मूल्य पर्ने हिरा तथा व्हाइट गोल्डबाट बनाइएको शीर्ष उपाधि विजेताको ताज पहिरिन सफल भइन् । विजेताका रुपमा अंशिकाले रु दश लाख नगद पुरस्कार प्राप्त गरिन् भने मिस युनिभर्स २०२० नेपालको तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने अवसर पनि । जसका लागि उनलाई फिलिपिन्स स्थित एम्पायर स्टुडियोज्बाट विशेष प्रशिक्षण प्राप्त हुनेछ । अष्टे«लियाको सिड्नीमा बस्दै आएकी अंशिकाले यस अघि मिस ओसियाना नेपाल २०२० मा फस्ट रनर अपको उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् ।
प्रतियोगितामा अमेरिकास्थित म्यारिल्याण्डमा रहँदै आएकी मिस नेपाल युएसए २०११ की विजेता सुजिता बस्नेत फस्ट रनर अप, रसियाको मस्कोमा बसोबास गर्दै आएकी मिस एशिया रसिया २०१८ की विजेता निना कान्त मण्डल सेकेन्ड रनर अप, काठमाडौंकी डा. दिक्ता थापा थर्ड रनर अप तथा अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी न्यान्सी खड्का फोर्थ रनर अप विजेता चयन भएका थिए । प्रतियोगिता अन्तर्गत निना कान्त मण्डलले बीबीबी सोसल एड्भोकेसी अवार्ड प्राप्त गरेकी थिइन् भने मिस युनिभर्स नेपाल तथा खल्ती एप मार्फत् प्राप्त भएको पब्लिक भोटिङमा सर्वाधीक भोट प्राप्त गरेको आधारमा ४५३२ भोट सहित सुजिता बस्नेतले मिस लाइफ स्टाइल, २७८५० भोट सहित न्यान्सी खड्काले मिस फ्याबुलस तथा ११२६६ भोट सहित अंशिका शर्मा मिस फियर्सको अवार्ड आफ्नो नाममा सुरक्षित बनाएका थिए ।
प्रतियोगिताका निर्णायक मण्डलको निर्णय संगै प्रतियोगिताहरुको मुल्यांकनमा लाइभ अडियसन्स भोटलाई पनि उत्तिकै प्राथमिकता दिइएको थियो । जसअन्तर्गत टप टेन भित्र पर्नेहरुमा पब्लिक भोटिङबाट अग्रस्थानमा रहेका चार जना प्रतिस्पर्धीहरु तथा निर्णायकहरुको मुल्यांकनबाट पाँच जना प्रतिस्पर्धीहरु चयन भएका थिए भने निना कान्त मण्डल बीबीबी अर्थात् ब्रेभ बोल्ड ब्युटीफुल सोसियल एड्भोकेसी अवार्ड विजेता भएसंगै उत्कृष्ट दशमा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी थिइन् । प्रतियोगितामा टप टेन चयन प्रक्रियामा पूर्व सम्पूर्ण १८ प्रतिस्पर्धीहरु स्वीम सूटमा उपस्थित भएका थिए । नेपालको प्याजेन्ट परिवेशमा सहभागिहरु स्वीम सूटमा प्रस्तुत भएको पनि यो पहिलो अवसर हो । प्रतियोगिताको टप फाइभ छनौटमा पनि लाइभ अडियन्सको पब्लिक भोटिङबाट दुई जना प्रतिस्पर्धीले आफ्नो स्थान सुरक्षित बनाएका थिए भने बाँकी तीन जना उपस्थित निर्णायक मण्डलको मुल्यांकनबाट छनौट गरिएका थिए ।
एपी वन् एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको सो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए भने रवि राजकर्णिकार र शुभेच्छा खड्काले कार्यक्रमका संचालक थिए । प्रतियोगिता अन्तर्गत विभिन्न राउन्डमा प्रीका प्रियंका, क्रिएसनका अमित बराल तथा काव्य द सोल अफ फेसनका पहिरनहरुमा प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।









तस्वीर :अजय लेन्सम्यान


