Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अहिलेको राजनीतिक अवस्था, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा जोड दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो ।

“केन्द्रीय सदस्यहरुले वैचारिक राजनीतिक कार्यदिशालाई अझ स्पष्ट बनाएर पार्टीलाई विधि, पद्धति र सामूहिक ढङ्गले सञ्चालन गर्नुपर्ने र कमीकमजोरीलाई समीक्षा गर्दै आफूलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुुभएको थियो”, केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै उहाँले भन्नुुभयो ।

बैठकमा २० केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, फम्फा भूसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजीत श्रीपाइली, जयपुरी घर्ती, परशुराम रम्तेल, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुुराम तामाङ, डिलाराम आचार्य, ओम शर्मा, कुमार पौडेल र रामचन्द्र झाले विचार व्यक्त गर्नुुभएको थियो । उहाँहरुले आ–आफ्नो धारणा राखेसँगै आजको बैठक स्थगित भएको थियो ।

प्रवक्ता श्रेष्ठल केही दिन पछाडि यही बैठक पुनः शुरुआत गर्ने बताउनुभयो । बैठकले सर्वोच्च अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन दिने निर्णय पनि गरेको छ । “तत्कालीन राजनीति परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्न सबै राजनीतिक दलसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौँ”, उहाँले भन्नुुभयो । बैठकले केन्द्रीय नेताहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिएर निर्धारित जिम्मेवारी सम्पन्न गर्न जाने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय