दमास्कस, सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोही समूहले नियन्त्रणमा लिएको छ । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ठुलो भागमा प्रवेश गरेको स्वीकार गर्दै सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएका र अन्य घाइते भएका बताएको छ । दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबिच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रुसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् । बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था ९सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स० ले भनेको छ, ‘विद्रोहीले सहरका अधिकांश भूभाग, सरकारी कार्यालय र कारागारलाई नियन्त्रणमा लिएका छन् ।’
अलकायदाको पूर्वसिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटिएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ । आक्रमणमा टर्कीसमर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ । यसैबिच, सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रुसले आफ्ना लडाकु विमानले सन् २०१६ पछि पहिलोपटक अलेप्पो सहर क्षेत्रमा आक्रमण गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।
एएफपी टिभीको तस्बिरमा हवाई आक्रमणपछि सहरको केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् । सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीले खुसियाली मनाइरहेको देख्न सकिन्छ । केही विद्रोहीले सहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए भने कतिपयले अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए ।
सिरियाली सेनाले सशस्त्र विद्रोही समूहहरूले अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण गरेको र १०० किलोमिटर ९६० माइल०भन्दा बढी दूरीमा भीषण युद्ध भएको बताएको छ । सिरियाली युद्ध अनुगमनकारी संस्थाका अनुसार रातभर भएको हवाई आक्रमणमा विद्रोहीहरूले उत्तरका दर्जनौं सहर र गाउँ कब्जामा लिएका थिए । अलेप्पोमा केही दिनयता भएको झडपमा मृत्यु हुनेको संख्या शनिबारसम्म ३११ पुगेको छ ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनकारीलाई दमन गरेपछि गृहयुद्ध सुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति भएको छ । पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबिचको जटिल युद्धमा परिणत भएको छ । सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम भएको थियो । सिरियाको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।


