जुनियर सुपरमोडल इन्टरनेसनल नेपाल २०२६ युवा आत्मविश्वास, सिर्जनशीलता, व्यक्तित्व र उदीयमान मोडलिङ प्रतिभाको उत्साहपूर्ण उत्सवका रूपमा सम्पन्न भएको छ। विभिन्न प्रतिस्पर्धात्मक चरण र आकर्षक प्रस्तुतिपछि आयाना राईले जुनियर सुपरमोडल इन्टरनेसनल नेपाल २०२६ को प्रतिष्ठित ताज जित्न सफल भइन्। विजेता आयानाले चर्मिङ एण्ड कन्फिडेन्ट अवार्ड समेत प्राप्त गरिन्। उपाधिसँगै उनले रु. ५० हजार नगद पुरस्कार पनि हासिल गरिन्। एन्जेलिना राईले फस्र्ट रनरअपको उपाधि हासिल गरिन्। उनले दर्शकको विशेष रोजाइमा पर्दै पब्लिक च्वाइस विनरको उपाधि तथा चर्मिङ फेस अवार्ड समेत जितिन्। त्यसैगरी अनन्या पुरीले सेकेन्ड रनरअपको स्थान हासिल गर्दै पर्सनालिटी एम्बेसडरको विशेष सम्मान प्राप्त गरिन्। अनमोल परियारले थर्ड रनरअप, युबिया महर्जनले फोर्थ रनरअप तथा बिद्द्या खत्रीले फिफ्थ रनरअपको उपाधि प्राप्त गरे। प्रतियोगितामा सहभागीहरूको व्यक्तिगत आकर्षण, प्रस्तुति क्षमता र दर्शकसँगको आत्मीय सम्बन्धलाई समेत विशेष महत्त्व दिइएको थियो। यस क्रममा अंशु भण्डारीले भ्यूअर्स च्वाइस अवार्ड प्राप्त गरिन् भने जिनियस प्रसाईं म्यानेजमेन्ट च्वाइस विनरका रूपमा चयन भए।

प्रतियोगितामा २३ जना प्रतिभाशाली बाल तथा युवा प्रतियोगीहरूको सहभागिता रहेको थियो। युवा प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई फेसन तथा प्रस्तुति क्षेत्रसँग परिचित गराउने उद्देश्यसहित भरत समारीको नेतृत्वमा समारी इन्टरनेसनल इभेन्ट्सले कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न कार्यक्रमले युवा मोडलिङ प्रतिभाका लागि एउटा सिर्जनात्मक र प्रेरणादायी मञ्च प्रस्तुत गरेको थियो। कार्यक्रमको कोरियोग्राफी अर्शु महर्जनले गरेका थिए भने दिलमाया मगरले इभेन्ट म्यानेजरका रूपमा कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेकी थिइन्। चर्चित फेसन कोरियोग्राफर तथा मिडियाकर्मी रोजिन शाक्यले कार्यक्रमको सञ्चालन गरेका थिए।

कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै समारोहको गरिमा बढाएकी थिइन्। नेपालका प्रथम एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसीले विशेष अतिथिका रूपमा उपस्थिति जनाएका थिए। यसैगरी जेमा फेसन हाउसकी फेसन डिजाइनर जेमा डोल्माले आफ्नो सिर्जनात्मक डिजाइनमार्फत कार्यक्रमको समग्र दृश्य सौन्दर्यलाई थप प्रभावशाली बनाएकी थिइन्। कार्यक्रमको सुरुवाती प्रस्तुतिलाई विशेष आकर्षण प्रदान गर्न रीना श्रेष्ठले ओपनिङ डान्सको कोरियोग्राफी गरेकी थिइन्।


