काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का परीक्षा केन्द्र निर्धारण गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाइ लाई नौबुँदे निर्देशन जारी गरेको छ।
विगतका वर्षमा परीक्षा केन्द्र निर्धारण, हाजिरी र उत्तरपुस्तिका व्यवस्थापनमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या आएको तथा केही परीक्षार्थीको नतिजा अवरुद्ध भएको सन्दर्भ उल्लेख गर्दै कार्यालयले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ कडाइका साथ लागू गर्न पुस मसान्तसम्म केन्द्र निर्धारण गर्न निर्देशन दिएको हो। विभिन्न जिल्लाबाट सोधनी आएपछि यस्तो निर्देशन जारी गरिएको कार्यालयले जनाएको छ।
एसईई २०८२ का परीक्षा केन्द्र निर्धारणसम्बन्धी ९ बुँदे निर्देशन:
1. न्यूनतम परीक्षार्थी संख्या: हिमाली–१५०, पहाडी–२५०, तराई/भित्री मधेस/उपत्यका–३०० (४०० भन्दा बढी नहुने)। तर, प्रत्येक जिल्लामा कम्तीमा एउटा केन्द्र अनिवार्य।
2. तोकिएको विद्यार्थी संख्याभन्दा कम भएमा त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी एकाइको हुने।
3. होम सेन्टर र पारस्पारिक केन्द्र नहुने; तर एकमात्र केन्द्र भएका जिल्लामा होम सेन्टर सम्भव। कम्तीमा दुई वा बढी विद्यालयका विद्यार्थी रहने गरी केन्द्र कायम।
4. सहरी क्षेत्रमा एकै विद्यालयमा प्रत्येक वर्ष एउटै केन्द्र नपर्ने गरी निर्धारण।
5.प्राविधिक धारका परीक्षार्थीका लागि अलग्गै केन्द्र; २०७९ का ग्रेडवृद्धि (पुरानो प्रश्नपत्र) का सबै परीक्षार्थी जिल्ला सदरमुकाममै एउटै केन्द्रमा।
6. अपाङ्गता (विशेष क्षमता) भएका थोरै परीक्षार्थीलाई नजिकको केन्द्रबाट परीक्षा; उत्तरपुस्तिका छुट्टै व्यवस्थापन। धेरै संख्या वा स्रोत कक्षा भए उपकेन्द्र सञ्चालन गर्न सकिने।
7. सुविधा, निष्पक्षता र व्यवस्थापन सहज हुने अवस्थामा पालिकागत समन्वयमा केन्द्र निर्धारण सम्भव।
8. तोकिएकै केन्द्रबाट मात्र परीक्षा दिनुपर्ने; अन्य केन्द्रबाट दिए परीक्षा रद्द हुन सक्ने।
9. अन्य सबै व्यवस्था निर्देशिका २०६८ बमोजिम लागू।
द्रष्टव्य: केन्द्र सिफारिस गर्दा केन्द्र नम्बर, परीक्षा केन्द्र विद्यालयको कोड, केन्द्राध्यक्षको नाम, सम्पर्क मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा समावेश गर्न अनुरोध गरिएको छ।


