Tuesday 5 May 2026 / मंगलवार, २२ बैशाख २०८३

काठमाडौं , कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको चलचित्र गोबर गणेश को ट्रेलरलाई दर्शकले रुचाएका छन्। सार्वजनिक भएको केही समयमै ट्रेलर र गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलियन भ्युज पार गर्दै चर्चा बटुल्न सफल भएका हुन्।

OSR Digital को युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा एक गाउँले युवक काठमाडौँ आएपछि भोग्ने संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। मरिचमान श्रेष्ठकै स्वरमा रहेको ‘ओ हेलो हाई हाई’ गीत टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ, जसमा वर्षा सिवाकोटी समेत फिचर्ड छिन्। समाचार तयार पार्दासम्म ट्रेलरले १९ लाखभन्दा बढी भ्युज पाउँदै युट्युब मुभी ट्रेन्डिङको दोस्रो स्थानमा स्थान बनाएको छ। दर्शकहरूले फिल्मको विषयवस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गरिरहेका छन्।

बल्छी धुर्बे फिल्म्स को प्रस्तुतिमा बनेको चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटीका साथै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्।‘मेरी बास्सै’ बाट लोकप्रिय बनेका श्रेष्ठले यसअघि ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता टेलिचलचित्र निर्देशन गरिसकेका छन्।चलचित्र ‘गोबर गणेश’ माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय