मस्को, रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उहाँलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ ।प्रमुख गम्भीर अपराधहरूको अनुसन्धान गर्ने रूसको अनुसन्धान समितिले रूसी जनरल स्टाफमा वरिष्ठ भूमिका निर्वाह गरिरहनुभएका जनरल भ्लादिमिर अलेक्सेभमाथि घटनास्थलबाट भाग्नुअघि ‘अज्ञात व्यक्तिले धेरै पटक गोली हानेको’ जनाएको छ ।“पीडितलाई अस्पतालमा भर्ना गरिएको छ”, अनुसन्धान समितिले जारी गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।
घटनामा संलग्न सन्दिग्ध व्यक्ति वा व्यक्तिहरूको पहिचानबारे भने समितिले कुनै विवरण दिएको छैन ।फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरू मारिएका छन् । तीमध्ये केही आक्रमणको जिम्मेवारी किएभले लिएको छ ।अनलाइन जीवनीअनुसार जनरल अलेक्सेभ एक क्यारियर सैन्य अधिकारी हुनुहुन्छ र हाल रूसी जनरल स्टाफको पहिलो उप–प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ ।उहाँले सिरियामा रूसको सैन्य हस्तक्षेपका क्रममा गुप्तचर कारबाहीको नेतृत्व गर्नुभएको थियो र त्यतिबेला वर्तमान नेता बशर अल–असदलाई समर्थन गर्नुभएको थियो ।साथै, सन् २०२३ मा रुसी सेनाका शीर्ष अधिकारीहरूविरुद्ध विद्रोह गर्ने प्रयास हुँदा वागनर समूहका प्रमुख येवगेनी प्रिगोझिनसँग वार्ता गर्न उहाँलाई पठाइएको थियो ।
“माथि उल्लिखित अपराधमा संलग्न व्यक्ति वा व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान प्रक्रिया र परिचालन खोजीका सबै उपायहरू अपनाइरहेका छौँ”, अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विज्ञप्तिमार्फत भन्नुभयो ।गत महिना एक रूसी अदालतले सन् २०२४ मा रूसी सेनाको रेडियोलोजिकल, केमिकल तथा बायोलोजिकल डिफेन्स फोर्सका प्रमुख जनरल इगोर किरिलोभको हत्या गरेको अभियोगमा उज्बेकिस्तानका एक नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको थियो । जनरल किरिलोभ मस्कोमा एउटा अपार्टमेन्ट ब्लक छोड्ने क्रममा बुबी–ट्र्याप गरिएको स्कुटर विस्फोट हुँदा मारिनुभएको थियो । उक्त आक्रमण आफूहरूले योजनाबद्ध रूपमा गराएको दाबी किएभले गरेको थियो ।


