काठमाडौं,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, समयमै सूचना प्रवाह र पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ।

थाइल्याण्डको बैंककमा आयोजित क्षेत्रीय संवादमा प्रस्तुतीकरण गर्दै उहाँले एक क्षेत्रमा पहिचान भएको प्रकोपले अन्य क्षेत्रमा समेत जनधन र जीविकोपार्जनमा जोखिम निम्त्याउन सक्ने बताउनुभयो। त्यसका लागि तथ्याङ्क साझेदारी, संयुक्त जोखिम मूल्याङ्कन, अन्तरदेशीय पूर्वसूचना प्रणाली र समन्वित पूर्वतयारीमा जोड दिनुभयो।

‘जोखिमले हिमालदेखि सागरसम्मलाई जोड्छ। त्यसैले हाम्रो प्रतिकार्यले विज्ञान, संस्था र देशहरूलाई जोड्नुपर्छ,’ उहाँले भन्नुभयो।डा. उप्रेतीले हिमाली क्षेत्रमा हुने परिवर्तनको असर टाढासम्म फैलिन सक्ने भएकाले हिमाली तथा तल्लो तटीय देशबीचको सहकार्य सुदृढ गर्नुपर्ने बताउनुभयो। साथै, नेपालमा आगामी पुनर्निर्माणमार्फत विपद् उत्थानशीलता प्रवर्द्धन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा उक्त क्षेत्रीय संवाद आयोजना गरिएको हो।


