Sunday 15 November 2026 / सोमबार, १ मंसिर २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् ।
सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार गठबन्धनको बैठक बस्ने तयारी छ ।

पौडेल–सिटौला समूहबाट को को बन्दै छन् मन्त्री ?

पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ ।
प्रधानमन्त्रीजीले किस्ता–किस्तामा गरी आफ्नै समूहका चार जनालाई मन्त्री बनाइसक्नुभयो । काँग्रेसले ७ मन्त्रालय मात्र पाउने कुरा सुनिन्छ । एक मन्त्रालय सिटौलाजी होला । अब हामीले दुई मन्त्रालय मात्र पाउने अवस्था देखियो । हाम्रो समूहभित्रका कमन मान्छेलाई मन्त्री बनाउनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आफू निकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै असोज ६ गते देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । अब काँग्रेसले पाउने तीन मन्त्रालयमा पौडेल र सिटौलाको कोटा मात्र बाँकी छ ।
ती नेताका अनुसार शशांक कोइरालाले सुजाता, मिनेन्द्र र दिलेन्द्रमध्ये एकजनालाई मन्त्री बनाउनेछन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले तेजुलाल चौधरी र राजन केसी मध्येबाट एक जना छान्ने अवस्था छ । चौधरी पौडेलसँग नजिक छन् भने केसी सिंह निकट हुन् ।
यता कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने भएका छन् ।
देउवाको नेतृत्वमा सरकार बनेको केही दिनमै गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानसँग सिटौलाले छलफल गरेका थिए ।

माओवादी केन्द्रबाट को-को ?

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार मन्त्री छनोटको जिम्मेवारी पाएका प्रचण्डले आन्तरिक छलफल लागेका छन् ।
माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताए । यसअघि जनार्दन शर्मालाई र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाएको छ । अब माओवादीले चार मन्त्री पाउने छ । अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

एकीकृत समाजवादीमा लाग्यो मन्त्रीको टुंगो

एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।

यी हुन् जसपाबाट मन्त्री बन्नेहरु

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । ती नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय