Saturday 30 May 2026 / आईतवार, १७ जेष्ठ २०८३

झापा, उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताउनुभएको हो ।

उहाँले आरोपपत्र फिर्तासँगै दाहाल–नेपाल समूहले सरकारले वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भन्नुभयो, “प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाइँहरुले धेरै चिन्ता लिनुपर्दैन ।”

उहाँले दाहाल–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाउनुभयो । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय