तेजेन्द्र शर्मा पौडेल-पर्यटन प्रवद्र्धक
मान्छे कहिलेसम्म थाक्दैन ? उसको जीवन समाप्तिसम्म वा उद्देश्य पूरा नभएसम्म । यदि उद्देश्य पूरा भएमा पनि मान्छे थाकेन भने मान्नुपर्ने हुन्छ उसले थप जीवनमा अनुभव बुटल्ने क्रममा छ ।
अझ भनौं उसले जीवनका विभिन्न आयाम र रंगहरुमा आफूलाई घोल्न चाहन्छ । तिनै विविध रंगहरुमा घुलिएका एक दृष्टान्त हुन्, पर्यटन प्रवद्र्धनमा आफूलाई सम्मोहित गराउने तेजेन्द्र शर्मा पौडेल । काठमाडौं बसाईको साढे तीन दशकमा उनले आफूलाई विभिन्न रंगहरुमा घोले । कहिले निलो, कहिले हरियो, कहिले गुलाबी त कहिले कालो । यी सबै रंगसँगको अन्तरघुलनलाई अति प्रिय अनुभव मान्ने तेजेन्द्रको जीवनका फेहरिस्त एक पानामा समेटिँदैन । समयसँग एकाकार हुँदै चुनौती र अवसरको सन्तुलनतामा स्थिर बन्न चाहेका उनलाई समयले नै पटकपटक परीक्षा लिइरह्यो । कतिमा उनी असफल भए कतिमा सफल । तर उनी सफलतामा मात्तिएनन् । असफलतामा आत्तिएनन मात्र अर्जुन दृष्टि लगाइरहे, ‘मेरो लक्ष्य अझै पूरा भएको छैन ।’
विसं २०३० सालमा पर्जतको आरुचौरमा जन्मिएका तेजेन्द्रलाई उनका बुवाले नेपाली सेनामा भर्ती गराउन चाहेका थिए । त्यसका लागि हाँसिल भएको प्रतिशतको मापनका आधारमा वीरेन्द्र सैनिक महाविद्यालयमा भर्ना भइन्थ्यो । उनलाई त्यहीँ प्लस टुसम्म पढाएर सेकेण्ड लेफ्टिनेन्टमा प्रतिस्पर्धा गराउने बुवाको इच्छा थियो । तर उनले विविध कारणले सैनिक महाविद्यालयमा भर्ना पाएनन् । उनको बाँकी उच्च शिक्षाको थलो आरआर क्याम्पस बन्न पुग्यो ।
विसं २०४६ सालमा एसएलसी उत्र्तीण तेजेन्द्रलाई काठमाडौंमा जागिरमा आबद्ध गराउन उनका बुवाको जनसम्पर्क काम लाग्यो । सोही क्रममा हालको राष्ट्रपति भवन अगाडि होटल काठमाडौं थियो । पूर्वराजा वीरेन्द्रका एडिसीसमेत रहेका पूर्व सैनिक सचिव शान्तकुमार मल्लका नातेदारमार्फत उनलाई जागिर मिलेको थियो । उनले त्यहाँ दुई महिना काम गरेपछि होटल सञ्चालकहरु राजपरिवार निकटका व्यक्तिहरु भएकाले पनि उनलाई त्यहीँबाट टिपेर नेपाल एयरवेज कम्पनीको प्रशासनमा जागिरको लगाइदिए । उनको लगनशीलताबाट प्रभावित भएपनि उनलाई त्यो अवसर प्राप्त भएको थियो । त्यहीँ एयरवेज कम्पनीमा सँगै काम गर्ने मध्येमा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका छोरा सुरेश कोइराला पनि थिए ।

कम्पनीको अध्यक्ष त्यसताका प्रदीपशमसेर जंगबहादुर राणा अध्यक्ष थिए । कम्पनीमा सबैको मन जितेका तेजेन्द्रलाई हेलिकोप्टर पाइलट पढ्न अमेरिका पठाउने निधो भयो । अमेरिकाबाट डकुमेन्ट्स पनि आएको थियो तर विविध कारणले उनी रोकिन पुगें । उता कम्पनी पनि २०५२ सालमा बन्द भयो । तेजेन्द्र भने लुम्बिनी एयरवेजमा जोइन भए । उनी पोखरा स्टेसन इन्चार्ज भई खटाइए । बालापनदेखिको भौगोलिक सम्बन्ध भएको ठाउँमा उत्साही भएर काम थालेका तेजेन्द्रले भने कम्पनी व्यवस्थापनका कारण तीन महिनामै काम छाडेर काठमाडौं फर्किए । पर्यटनसम्बन्धी विभिन्न संस्थामा काम गरिरहेकाले पनि उनलाई ठमेलकै ओशो वल्र्ड ट्राभल्समा काम मिल्यो । उनले त्यहाँ उर्जाशील साढे दुई वर्ष बिताए ।
विदेशी पर्यटकको ओइरो लाग्दै गरेको ठमेलमा तेजेन्द्रको पनि जक्सन प्वाइन्ट बन्यो । कामको सयमपछि डिस्को, रेस्टुरेन्ट र बारहरुमा नियमित जाने । विदेशी पर्यटकसँग घनिष्ठता बढाउँदै लगे । इन्टरनेटको विस्तार भइसकेको थिएन । बेलायत, अस्टे«लिया लगायतका विदेशी साथीहरु उनले बनाएका थिए । आफूभन्दा उमेरले सिनियर भएपनि साथीको व्यवहार पाएको तेजेन्द्र सम्झिन्छन् । पोस्ट बक्समा चिठीहरु आउँथे । विदेशी साथीहरुसँगकै निरन्तर संवादका क्रममा एकपटक एकजनाले उनलाई नेपालमा आफूहरु मात्र माउन्ट एभरेष्ट हेर्न नआउने बताए । माउन्टेन फ्लाइटबाट देखिने हिमालले मात्र आकर्षित गर्न नसक्ने विदेशीको भनाई सुनेपछि तेजेन्द्रलाई व्याकुल बनायो । पर्यटनमै भविष्य देखेको र आफूलाई विस्तारै त्यहीँ मार्गमा लैजादै गर्दा उनका विदेशी साथीले सुनाएको गुनासोले उनलाई मनमै छोयो । उनलाई विदेशीले भनेको अर्को कुरा पनि याद छ । ‘होटलमा बस्छौं, रेस्टुरेन्टमा काटाचम्चाले खान्छौं । डिस्को, बार जान्छौं । यो हाम्रो देशमा पनि छ नि । नेपालमा नयाँ हेर्न पाइन्छ भनेर पो आएको ।’
गाउँले परिवेशबाट हुर्किएर काठमाडौंको वातावरणमा घुलिसकेपछि पनि उनलाई विदेशीको आशय बुझ्न बेरै लागेन । उनले सोचे, ‘अब विदेशीलाई गाउँमा हलो जोतेको, कोदो, मकै गोडेको, हातले भात खाएको । रुखको टुप्पोमा र भिरमा पुगेर घाँस काटेको । खर र ढुंगाले छाएको घरमा सुतेको देखाउन सक्नुपर्छ ।’ नेपाली जनजीवनमा सामान्य लाग्ने दैनिकी उनीहरुलाई रोचक लाग्ने तेजेन्द्रको बुझाई भयो । उनलाई ग्रामिण पर्यटनको विकास यसरी नै गर्न सकिने उपाय आइहाल्यो तर कसरी थाल्ने अन्योल थियो । उनी ओशो ट्राभलमै काम गर्दा गाउँले पर्यटन नेपालको अवधारणा आयो । सँगसँगै आफ्नै कम्पनी खोल्ने गरी ‘मेरो ट्राभल’को कन्सेप्ट आयो । श्री ३ जुद्धशमशेरका नाती नैनु शमशेर जंगबहादुर राणासँगको उनको चिनजान थियो ।
उनले ओशो ट्राभल छाडेपछि उनलाई भेटे । र नयाँ काम थाल्न लागेकोबारे बताए । नैनु शमशेरले उनलाई भनेका थिए, ‘तिमी डाइनामिक अनि स्मार्ट लाग्छ बाबु ट्राभल खोल्न मेरो पनि रुचि छ । हामी सहकार्य गरौं ।’ नैनु शमशेरको जनसम्पर्क पनि राम्रो भएकाले ट्राभल राम्रै चल्न सक्ने आंकलन तेजेन्द्रलाई थियो । सोहीमुताबिक सहकार्यमा मेरो ट्राभल खुल्यो । ट्राभल चल्दै गयो । तेजेन्द त्यतिबेला जम्मा २२ वर्षका थिए । सोही समयमा उनले गाउँले पर्यटनको अवधारणाबारे नैनु शमशेरलाई सुनाए । नैनु शमशेरले उनलाई हौसला मात्रै दिएनन् आफैं अध्यक्ष बसेर तेजेन्द्रलाई महासचिव बनाए । उपाध्यक्षमा उनका कुन्दनशमशेर जबरा रहे । एभिएसनमै आबद्ध थिए । २०५६ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गाउँले पर्यटन–नेपालले आधिकारिकता पायो । जबरा खलकको राजपरिवारसँग सम्बन्ध राम्रो भएकाले उक्त गाउँले पर्यटनको अवधारणाबारे राजा वीरेन्द्रसमक्ष खबर पुग्यो । त्यसबाट राजा वीरेन्द्र पनि प्रभावित भई उक्त संस्थाको संरक्षकमा युवराज दीपेन्द्रलाई राखियो । महेन्द्र प्रकृति संरक्षण कोष र गाउँले पर्यटन–नेपाललाई सँगै लैजान सकिने युवराज दीपेन्द्रले बताउने गरेको तेजेन्द्र सम्झन्छन् । तर राजपरिवारको अकल्पनीय हत्यापछि उक्त संस्था सिनिल बन्न पुग्यो । तमाम् योजनाले मूर्तता पाउनै सकेन ।

ट्राभलले राम्रै व्यवसाय भने गरिरहेको थियो । त्यसबेला तेजेन्द्रले नैनु शमशेर जबरालाई सुविधामा कम्पनीमार्फत हरियो प्लेटको मिसुबिची पजेरो उपलब्ध गराएका थिए । उनीसँग त्यस्ता सय गाडी किन्ने पैसा थियो तर कम्पनीबाट तेजेन्द्रले सुविधामा पजेरो उपलब्ध गराउँदा उनीप्रतिको विश्वासले शिखर चुम्यो । त्यसअघि नै तेजेन्द्रलाई उनले धर्मपुत्र बनाइसकेका थिए । खुसी हुँदै नैन शमशेरले ‘तिम्रो इच्छा के छ ?’ भनी सोधे । के भन्ने के भन्ने अन्योल भएकै बेला तेजेन्द्रले फ्याट्टै एयरलायन्स खोल्ने बताए । प्राइभेट एयरलाइन्समा काम गरेको अनुभव भएकाले पनि उनलाई आँट थियो । उनले मेरो ट्राभलपछि अब मेरो एयर खोल्ने प्रस्ताव अघि सारे । नैनु शमशेरले श्री ३ को नाती म तीनवटा जहाज ल्याउने भनेर आफ्नो ७० प्रतिशत र तेजेन्द्रको ३० प्रतिशत सेयर रहनेगरी सहमति दिए ।
त्यससमय तेजेन्द्र निकै भावक भएका थिए । उनलाई यति ठूलो अवसर प्राप्त हुँदा उनले आफ्ना बुवालाई सम्झिए । बुवाले कमाएको इमान्दारिताका कारण आफूले अवसर पाएको हेक्का राखे । ‘मेरो एयरको पनि कम्पनी दर्ता गरेर अघि बढायौं । निजी कम्पनीको इजाजत लिनलाई मन्त्री स्तरको निर्णय पनि बन्यो । अप्रेसनमा आउन सिभिल एभियसनबाट चाहिने इजाजत पनि बन्यो । सबै प्रक्रिया सकिएको थियो,’ उनी सम्झिन्छन्, ‘२०६२ पछि राजसंस्था ठल्यो । त्यस्तो अवस्थामा जोखिम हुने भन्दै तत्काल काम अघि नबढाउन नैनु शमशेरले भन्नुभयो । त्यसको केही सयममा इजाजतको अवधि हुँदै कम्पनी खारेज गरेको सूचना आयो ।’ नैनु शमशेरलाई खासै त्यसको पीडा त रहेन । तर तेजेन्द्रलाई निकै पीडा महशुस भयो । ‘मैले अवसर सदुपयोग गर्न नसकेकोमा दुःख लाग्यो । सर्वोच्चमा खारेज विरुद्ध मुद्दा हाले । तर सुनुवाई भएन,’ उनी भन्छन् ।

अवसर पाउँदापाउँदै पनि नेपालमा क्षमताअनुसार गर्न सकिन कि भनेर दिक्क मानिरहेका तेजेन्द्र त्यसपछि सन् २०१२ मा क्यानडा हानिए । तर क्यानडामा पनि मन अडिएन । यहाँ संस्थाको महासचिव, व्यवसायी भएर दुईचार जनालाई रोजगारी दिएर बसेकाले उनलाई चैन भएन । उनी १ वर्षमै फर्के । त्यसपछि पनि केही समय क्यानडा गए तर पनि मनले मानेन् र २०७२ को भूकम्पछि फर्के । र अठोट लिए, जीवनका तीता मिठा अनुभवलाई एउटा रमाइलो घटना मान्दै आफूले जीवनको अधिकांश समय बिताएको पर्यटन क्षेत्र र जन्माएको संस्था गाउँले पर्यटनलाई पुनर्जीवन दिने ।
उनको सक्रियता पुनः त्यसपछि नै सुरु भयो । ठमेलमै एक्रस् वल्र्ड ट्राभल र एसिया नेपाल होलिडे कम्पनी सञ्चालनमा ल्याए । गाउँले पर्यटन–नेपालले पनि पुनर्जीवन पायो । त्यसको संरक्षकमा पूर्वमन्त्री सुनिलकुमार थापा छन् । अध्यक्षमा तेजेन्द्रले जिम्मेवारी लिएका छन् । अझै पनि उनलाई गाउँगाउँमा विदेशी पर्यटक पु¥याएर समग्र अर्थतन्त्रलाई पर्यटनका माध्यम गतिशिल बनाउने धोको छ । संस्थाले सोहीअनुसार कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन् । त्यससँगै मूर्त रुप लिन नपाएको एयरलायन्स सञ्चालनमा मिल्ने टिम डोनरहरुको साथ पाए सञ्चालन गर्ने उनको अठोट छ ।
पर्यटनप्रतिको निरन्तर साधनाकै कारण उनलाई नेपाल सरकारले भिजिट नेपाल २०२० को मूला आयोजक समितिको सदस्यमा पनि मनोनयन गरेको थियो । साथै उनी हाल युनाइटेड नेसन पिस किपर्स फ्रेडल काउन्सिलको नेपालबाट बरिष्ठ सल्लाहकार छन् । जसको हेडक्वार्टर थाइल्यान्डमा छ । इन्पेरियल रोयल हाउस युक्रेन रसियाबाट नेपालको कन्सुल मान्यता उनीलाई छ । जीवनका विभिन्न उतारचढाको भुक्तभोगी तेजेन्द्रको एउटा सरल मन्त्र छ, ‘जीवनमा लोभ नगर्ने तर आश गर्न नछोड्ने ।’


