जयन्द्रलाल श्रेष्ठ
अध्यक्ष, राष्ट्रिय वाणिज्य सहकारी संस्था
वित्तिय क्षेत्रमा परिचित नाम हो जयन्द्रलाल श्रेष्ठ । हाल उनी राष्ट्रिय वाणिज्य सहकारी संस्थाको अध्यक्ष छन् । त्यसअघि उनले सिभिल मर्चेन्टको पूर्व सिइओ, सिभिल बैंकका सल्लाहकार र राष्ट्रिय वाणिज्य बैंकमा उच्च तहमा कार्यानुभव बटुले ।
जीवनको लामोसमय वित्तिय क्षेत्रमा आफूलाई सक्रिय बनाइराखेका श्रेष्ठको आजको दैनिकी पनि उत्तिकै जोसिलो छ । संस्थामा रहेर आफूले के लिन्छु भन्दा पनि मैले कसरी योगदान पु¥याउन सक्छु भन्ने दत्तचित्त उनमा भेटिन्छ । फलस्वरुप उनलाई राष्ट्रिय वाणिज्य सहकारी संस्थाको निर्विरोध अध्यक्ष रहेर सेवा गर्ने अवसर प्राप्त भयो । जसलाई उनले वित्तिय क्षेत्रमा बनाएको इमान्दारिता र सफलताको उपज मान्नु पर्छ ।
श्रेष्ठको जन्म विसं २००७ सालमा धनकुटाको बिचबजारमा भएको हो । उनले विद्यालय शिक्षा धनकुटामै प्राप्त गरे । त्यसपछिको उच्च शिक्षाका लागि उनी विसं २०२४ सालमा विराटनगर झरेका थिए । विराटनगरबाट उनले आइए र बिए सकाए । विसं २०२९ सालमा बिए उत्तीर्ण हुँदा ६५ जनामध्ये चारजनामा उनी पनि एक हुन् ।

बिए पासपछि उपयुक्त जागिरको खोजी गरिरहेका श्रेष्ठले भनेजस्तो जागिर नपाएपछि मास्टर पढ्न काठमाडौं आएका थिए । उनको सोच अर्थशास्त्र पढ्ने थियो । मास्टर पढ्ने शिलशिलामा उनी एक वर्ष गोरखाको शक्ति माविमा समेत पढाउन भ्याए । जागिर र पढाई नमिलेपछि उनले तीन वर्ष लगाएर मास्टर सके र त्रिवि छेवैमा रहेको सिडा नामक संस्थामा ६ महिनाको करारमा जागिर पाए ।
त्यसपछि पनि उनी वल्ड बैंकको प्रोजेक्ट अन्तर्गतको औद्योगिक सेवा केन्द्रमा काम गरे । क्यानडियन प्रोजेक्ट आइडिआरसीमा समेत उनको अनुभव रह्यो । गण्डकी र बागमतीका जिल्लाहरुमा घरेलु उद्यम विकासका लागि त्यो प्रोजेक्ट कार्यरत थियो । निरन्तर विभिन्न प्रोजेक्टमा सहभागी भई अनुभव बटुल्दै गर्दा उनी शिक्षा मन्त्रालय अन्तर्गत प्रौढ शिक्षा कार्यक्रमको सर्वे अफिसर बने । वीरगञ्ज र चितवन उनको कार्यक्षेत्र बन्यो । त्यसै बीचमा उनी राष्ट्रिय वाणिज्य बैंकमा अफिरस तहमा जाँच दिएर विसं २०३६ सालदेखि प्रवेश गरेको बताउँछन् ।
उनी वाणिज्य बैंकमा प्रवेश गरेलगत्तै पूर्वाञ्चलका जिल्लाहरुमा खटिए । धरान, धनकुटा, संखुवासभा, जनकपुर हुँदै काठमाडौंका महाराजगञ्ज र ठमेल शाखामा उनी ब्रान्च म्यानेजर भई सेवा गरे । निरन्तर २५ वर्ष उनले वाणिज्य बैंकमा आफूलाई समर्पित गराए । त्यसैबीचमा इन्जिनियर र बैंकर्स ग्रुप मिलेर सिभिल मर्चेन्ट खोल्ने प्रस्ताव सहित राष्ट्र बैंकमा आवेदन दिइयो । सिइओमा जयन्द्रलाल श्रेष्ठ सिफारिस भए । तर वाणिज्य बैंकमा कर्मचारी भइरहेका कारण राजिनामा दिनुपर्ने बाध्यता आइलाग्यो । वाणिज्य बैंकको २५ वर्षे सेवालाई बिट मार्ने निधोमा पुगि अन्ततः उनले भोलेन्टियर अवकाश लिई सिभिल मर्चेन्टमा सिइओको जिम्मेवारी सम्हाले ।

सिभिल मर्चेन्टले सुरुवाती समयदेखि नै नाफा आर्जन गरेको उनी बताउँछन् । ‘राष्ट्र बैंकको मर्ज पोलिसी आएपछि हामीले पनि सिभिल बैंकसँग मर्ज ग¥यौं,’ उनी भन्छन्, ‘उमेरले ६० वर्षपछि सिइओ पद खान नमिल्ने हुँदा करारअनुसार मलाई सल्लाहकार राखियो ।’ त्यसपछि उनी छ वर्ष त्यहाँ सेवा गरे ।
पछिल्लो तीन वर्ष भएको थियो उनी सिभिल बैंक छोडेको । तर सक्रिय जीवनबाट बिदा लिन उनको मनले मानेन । राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारीहरु सम्मिलित राष्ट्रिय वाणिज्य सहकारी संस्थामा अध्यक्ष बसिदिन उनलाई आग्रह आयो । अहिले अध्यक्ष भएर काम गरिरहेको छु । संस्थालाई चाँडो भन्दा चाँडो माथि लैजाने अठोट छ ।’
वित्तिय क्षेत्रमा स्थापित भइसकेका श्रेष्ठलाई हामीले अन्तिममा सोध्यौं, यदि बैंकर्स नबनेको भए के बन्नुहुन्थ्यो ? उनले भने, ‘मलाई प्रोजेक्टहरुमा काम गर्ने इच्छा थियो ।’
बैंकिङ करियरमा भने उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । न त तीतो अनुभव नै छ । त्यसै सिलसिलामा उनले पाकिस्तामा इन्टरनेसनल बैंकिङ कोर्षमा तीन महिना अध्ययन गर्ने अवसर प्राप्त गरे । अब बाँकीको जीवन पनि बैंकिङ क्षेत्रलाई कुनै न कुनै योगदान दिने उनको चाहना छ ।


