Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं । शिक्षाको नाममा टोल टोलमा वर्षाकालको च्याउ उम्रिए जस्ता शैक्षिक संस्था खुलेका छन् । ती संस्थाले कस्तो शिक्षा दिन्छन्, उनीहरुको क्षमता के कस्तो छ ? पैसा मात्रै लिन्छन् कि खासमा शैक्षिक वातावरण पनि बनाएका छन् भन्ने बारेमा सरोकार राख्ने निकायले खास अर्थमा चासो पनि राखेको पाइदैन ।

आम मानिसको बुझाईमा क्षिक्षा क्षेत्रमा व्यापार मात्रै भइरहेको छ । शिक्षा त परको कुरा । अभिभावकसँग मस्तले पैसा लिने विद्यालयहरु बालबच्चालाई शिक्षा दिने सवालमा कमजोर छन् । हरेक वर्ष सार्वजनिक हुने एसइएको परिणामले पनि त्यही देखाउँछ । सरकारी शैक्षिक संस्थाहरु क्रमशः कमजोर बनीरहेका छन् । निजी शैक्षिक संस्थाहरुको मनोमानी पनि उत्तिकै बढेको छ ।

खास अर्थमा बालबच्चालाई उनीहरुको क्षमता अनुसारको शिक्षा दिनुपर्छ भन्ने सोचका साथ खुलेका शैक्षिक संस्था पाउन मुस्किल नै पर्छ । एकाध शैक्षिक संस्थाले मात्रै बालबच्चाको रुची र चाहना अनुसारको शैक्षिक वातावरण बनाएका छन् । त्यस्ता विद्यालयले उत्पादन गरेका विद्यार्थीले मात्रै सफलताको शिखर चढ्न सक्छ ।

आफ्नो विद्यालय जाने उमेरमा कपी र कलम किन्न समेत असाध्यै गाह्रो भएको बताउनुहुने मिना महर्जनले पछिल्लो दुई वर्षदेखि विद्यार्थीको क्षमता बुझेर शैक्षिक वातावरण बनाउनुभएको छ ।

घरबाट अण्डा चोरेर नजिकैकको पसलमा लगेर बिक्री गर्ने र त्यसबाट आएको पैसाले कपी कलम किनेर पढेको स्मरण गर्नुहुने मिना आज सबल एउटा शैक्षिक संस्था बनाउन लाग्नुभएको छ । घोकन्ते विद्या होइन, व्यवहारिक ज्ञान दिनुपर्छ र विद्यार्थीको रुची तथा चाहनालाई सम्बोधन गर्न सकेको खण्डमा मात्रै अध्ययन अध्यापनको क्षेत्रमा सफलता प्राप्त गर्न सकन्छि भन्ने उहाँको सोच छ ।

अभाव र दुःखको जिन्दगी कस्तो हुन्छ भन्ने भोग्नुपरेका कारण आफूले जीवनमा केही गर्नुपर्छ भनेर लागेको उहाँको भनाइ छ । जनप्रभाव माविबााट प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि नजिकैकको एउटा विद्यालयमा मासिक ५०० रुपैयाँमा अध्यापन गराएको उहाँ स्मरण गर्नुहुन्छ । त्यतिबेला दिनभरी पढाउँदा भोक लाग्थ्यो, तिर्खा लाग्थ्यो, तर विद्यालयले चिया समेत दिँदैनथ्यो । असाध्यै गाह्रो थियो । तर साना र कलिला बालबालिकासँग बस्न पाउँदा, उनीहरुलाई आफूले जानेको कुरा सिकाउन पाउँदा आफूहरुलाई असाध्यै खुसी लाग्थ्यो । उनीहरुसँग बस्दा सबै दुःख पीर भुलेको जस्तो लाग्थ्यो ।

आफूले त्यस्तो अभाव भोगेका कारण आज आफ्नो शैक्षिक संस्थामा काम गर्ने शिक्षकलाई आफूले सक्दो सेवा सुविधा दिन कन्जुस्याई नगरेको महर्जनको भनाइ छ ।
उहाँको विद्यालय काठमाडौँको स्वयम्भुमा रहेको छ । नयाँ सोच र तरिकासहित काम गर्ने र सहज शैक्षिक वातावरण बनाउने उद्देश्यका साथ विद्यालय स्थापना गरेको उहाँको भनाइ छ ।

काठमाडौँको ब्रम्हटोलमा १९७० डिसेम्बर २१ मा जन्मनु भएकी मीनाको बाल्यकाल काठमाडौँको बाफलमा बित्यो । जनप्रभाव माविबाट प्रवेशिका , सरस्वती कलेजबाट स्नातक गर्नुभएको मिनाले शुृरुवाती चरणमा नै विद्यालयमा शिक्षण गरेका कारण २० वर्षपछि पुनः शैक्षिक संस्थामा जोडिनुभयो । प्राथमीक शिक्षा अध्ययन गर्दा कापी कलम किन्न घरवाट पैसा नपाउदा अण्डा वेचेको याद अझै पनि यादगार रहेको वताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ “शुरुवाती दिनमा मैले यति धेरै धेरै मेहनत गरे कि त्यसैले मलाई आज सफल बनाएको छ ।” बच्चासँग खेल्न पाउँदा रमाइलो हुन्थ्यो र र सबै दुःख बिर्सन्थे । सानैदेखि काम गरे । खासमा ४ वर्ष शिक्षण पेशामा रहे । त्यसपछि ठमेलमा व्यवसाय शुरु गरे । आफैले स्वीटर बुनेर जम्मा भएको पैसाबाट क्रमशः व्यापार विस्तार हुँदै गयो । सो व्यवसाय युनाइटेट कमन फेशनका रुपमा अझै पनि सञ्चालनमा छ ।

व्यवसाय गरिरहँदा समेत मनमा विद्यालय आइरहन्थ्यो । बालबच्चा आइरहन्थ्यो । आफ्नी छोरीलाई राम्रो विद्यालय खोज्दा पाएको हैरानी र परेसानीका कारण आफै शैक्षिक संस्था खोल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उहाँले जानकारी दिनुभयो ।
आफैले लगानी गरेर एउटा विद्यालयमा पाँच वर्ष काम गरे । फेरी पनि शिक्षक मात्रै नभई व्यवस्थापनमा समेत रहेर काम गरे, तर आफूले सोचे जस्तो अझै हुन सकेन ।

बच्चालाई चाहिने कुरा पनि त्यसबेला सिके । के भयो भने राम्रो शिक्षा दिन सकिन्छ भनने थाहा पाए र पछिल्लो २ वर्षदेखि अर्को शैक्षिक संस्था स्थापना गरेको बताउनुहुन्छ, मीना ।
जुन स्कूलमा बच्चा पढ्छ त्यो सक्षम भएर निस्कयोस् भन्ने आफनो विशेष मान्यता राखेको उहाँको भनाइ छ । सबै बच्चासँग एउटा एउटा फरक क्षमता रहन्छ । त्यसलाई फैलने र फूल्ने अवसर दिनुपर्छ । हामीले कुनै न कुनै क्षेत्रमा सक्षम बनाउनुपर्छ ।
शिक्षण पेशाबाट व्यापारमा जाँदा धेरै दुःख भोगेको उहाँ सम्झनुहुन्छ । “म सँग पैसा थिएन । ५०० रुपैयाँमा नोकरी गर्दा, स्वीटर बुनेर आफैले व्यापार गरे । सानो पैसाबाट शुरु गरिएको व्यवसाय फैलदै गयो ” उहाँले भन्नुभयो । सोही व्यवसायमा कमाएको पैसा विद्यालय खोलेको मीना बताउनुहुन्छ । ।

सन् २००६ मा राजनीतीकर्मी रामकृष्ण चित्रकारसँग उहाँको विवाह भयो । एउटा महिलाले भोग्नुपर्ने सबै पीडा आफूले भोगेको बताउनुहुने उहाँले हरेक समस्यामा पनि आफूले हरेश नखाईकन काम गरेको स्मरण गर्नुहुन्छ ।

आजभन्दा २० वर्ष पहिले नेपालमा काम गर्न गाह्रो थियो । त्यसमाथि महिलालाई त झनै गाह्रो थियो । एउटा शिक्षकको नाताले गर्न नसकेको काम अहिले आफै विद्यालय खोलेर सकारात्मक सोचका साथ काम गरिरहेको उहाँ बताउनुहुन्छ ।

पैसा धेरै दिएर मात्रै राम्रा शिक्षक आउने होइन भन्ने धारणा राख्ने मीनाको विचारमा बच्चालाई राम्ररी शिक्षा दिक्षा दिन सक्छु भन्ने प्यासन भएका शिक्षक चाहिने बताउनहुन्छ । आफूसँग रहेका शिक्षकलाई राम्रो सेवा सुविधा दिन सके शिक्षण संस्थालाई सबल बनाउन सकिन्छ भन्ने उहाँको मान्यता छ । त्यसो भए अभिभावकले पनि राम्रो सहयोग गर्नुहुन्छ । आफ्नो विद्यालयमा रहेका शिक्षकलाई राम्रो सेवा सुविधा दिएका समेत उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय