डा विजेन्द्र शाह
आयुर्वेद कन्सल्टेन्ट सर्जन तथा लेक्चर
त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर ।
विश्वमा नौलो प्रजातिको जिवाणु (कोरोना)ले राज चलाइरहँदा त्यसबारे विभिन्न अड्कलबाजी हुन थालेका थिए । विश्व स्वास्थ्य संगठन पनि एकप्रकारले निरीह जस्तै भइरहेको थियो ।
खोपको कुनै प्रक्षेपण थिएन । जीवनशैली सुधार्नु र आफैंले आफैंलाई घर भित्र कैद गर्नु बाहेक कोरोनाबाट बच्ने विकल्प थिएन । तर त्यहीँ समयमा त्रिवि आयुर्वेद शिक्षण अस्पतालमा कार्यरत आयुर्वेद कन्सल्टेन्ट सर्जन तथा लेक्चर डा विजेन्द्र शाहले भने एउटा रिसर्चमा घोत्लिइ रहेका थिए । त्यो समय थियो, कोरोनाको पहिलो सत्रताका ।
त्यहीँ समयमा उनले आयुर्वेद चिकित्सा पद्धतिबाट पनि कोरोना लागेका बिरामीलाई उनीहरुको रोगप्रतिरोधात्मक क्षमता बढाई निको पार्न सकिने विधिको प्रोटोकल तयार पार्नेमा प्रमुख योगदान डा विजेन्दको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभिन्न विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँगको परामर्शपछि उनले तयार गरेको प्रोटोकल पारित भई सर्वसाधारणमा लागू गर्ने निर्णय भयो ।
उनले कोरोना प्रोटोकल अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशन गरे । गुड्ची, यष्टिमधु, त्रिकटु लगायतका औषधिय गुण भएका जडिबुटीको मिश्रणलाई मात्राअनुसार सेवनका लागि तयार गरिएको प्रोटोकल जारी नेपालमा जारी भयो । विश्वमा खोपको अन्वेषण भइरहँदा भने नेपालमा डा विजेन्द्र शाहको विज्ञताले केही मात्रामा भएपनि कोरोनाका बिरामी निको बनाउन मद्दत गरेको ग¥यो ।
रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुर गाउँमा विसं २०४७ सालमा जन्मिएका डा विजेन्द्रले भारतको गुजरात आयुर्वेदिक युनिभर्सिटीबाट मास्टर अफ सर्जन गरेका हुन् । आयुर्वेद भाषामा त्यसलाई शल्यतन्त्र भनिन्छ । गाउँकै विद्यालयमा बुवा गणितका शिक्षक भएकाले उनको पारिवारिक वातारण शैक्षिकमय थियो । अध्ययन हासिल गरेरै गन्तव्यमा पुग्न सकिन्छ भन्ने भावना विकास भएकाले पनि उनलाई चिकित्सा क्षेत्रमा मोह बढ्यो ।
उनले भारतमा एमडी पढ्नु जानुअघि त्रिविबाटै ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी सकाएका थिए । त्यससमयमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसमा नाम निकाले पनि उनले आयुर्वेदिक विषयलाई नै रोजे । पढाईमा सानैदेखि अब्बल डा विजेन्द्रले आयुर्वेदिक चिकित्सा क्षेत्र रोज्नु पनि निकै चुनौतीपूर्ण थियो । तर उनको सोच जहिल्यै नयाँ गर्ने हुँदा त्यसतर्फ प्रेरित गरिरह्यो । आयुर्वेदिक चिकित्साका बहुआयाम बुझ्ने हुटहुटी उनमा त्यतिमै सिमित रहेन । उनकै अगुवाई नेपालमा ब्याचलर पढेकालाई भारतका विश्वविद्यालयमा एमडी अध्ययन अनुमति फुकाउन सरकारले पहल थाल्यो ।

उनी भारत गएर आयुर्वेदिकमा एमडी पढ्ने पहिलो ब्याचका विद्यार्थी हुन् । विद्यार्थी राजनीतिमा पनि आफूलाई संलग्न गराएकाले उनले सोझै सरकारसमक्ष त्यसको गाँठो फुकाउन सहयोग मागे र पहिलोपटक भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । आफ्नो अगुवाईमा त्यत्तिको महत्वपूर्ण कार्य गर्न सफल हुँदा नेपालको शैक्षिक मान्यतालाई पूर्णता दिन पाएकोमा उनी प्रशन्न छन् ।
आयुर्वेद चिकित्सा पद्धतिको बहुआयाम बुझ्ने क्रममा उनलाई गुजरात आयुर्वेकि युनिभर्सिटी महत्वपूर्ण थलो बनेको थियो । जुन आयुर्वेद विश्वविद्यालयमा विश्वकै अग्रणी मानिन्छ । उनले त्यहाँ रहँदा दर्जनौं देशका अन्तर्राष्ट्रिय विद्यार्थीसँग समन्वय र सहकार्य गर्ने अवसर प्राप्त गरे । विश्वमा नै आयुर्वेदको आकर्षण र भइरहेका गतिविधिबारे नियाल्ने आँखीझ्याल उनका लागि विश्वविद्यालय बन्यो ।
उनले एमडी पश्चात्त एफएआरसिएस एनोरेक्टल (FARCS-Anorectal) विधामा पनि १ वर्ष भारतबाट फेलोसिप प्राप्त गरेका थिए । उनका दर्जनौं अन्तर्राष्ट्रिय जर्नल प्रकाशित भइसकेका छन् । जुन गुगल, रिसर्च गेट, गुगल स्कोलर जस्ता पोर्टलमा गएर हेर्न सकिन्छ । हाल उनी द हिलर (www.thehealerjournal.org) जर्नल अफ आयुर्वेदा क्याम्पस (www.jacjournal.org) र इन्टरनेसनल जर्नल अफ आयुश केस रिपोर्टस्मा (www.ijacare.in) गरी तीनवटा जर्नलमा एसोसियट एडिटर छन् ।
भारतमा आयुर्वेदिक दृष्टिकोणले केरला धेरै स्तरीय भएको बताउन डा विजेन्द्र नेपाल त्यो भन्दा झन् उच्चकोटीको भूगोल भएको बताउँछन् । प्राकृतिक हिसाबले नै आयुर्वेदिक क्षेत्र नेपाल भएको उनको भनाई छ । आयुर्वेदिक मात्र चिकित्सा पद्धति मात्र नभई जीवन जीउने फर्मुला पनि भएको उनी सुनाउँछन् । धेरैले आयुर्वेदमा सर्जरी हुने बुझेको भएपनि वास्तविक रुपमा त्यो मात्र नभएको डा विजेन्द्रले बताए । पायल्स, फिस्टुला लगायतको उपचारमा क्षारसुत्र विधिबाट गरिने शल्यतन्त्रलाई डब्लुएचओले नै बढी विश्वास गरेको उनको दावी छ ।
भारतबाट पढाई पूरा गरेर सन् २०१९ पछि नेपालमै सेवा गर्ने मनसाय बनाई फर्किएका डा विजेन्द्रले नेपाललाई आयुर्वेद चिकित्साको हब बनाउने लक्ष्य छ । उनले त्यसका लागि नेपाल आयुर्वेद ट्रष्ट स्थापना गरी आयुर्वेद क्षेत्रको विकास र विस्तारमा तल्लीन रहेका छन् ।


