फोटोग्राफर तथा फोटोपत्रकारको परिचय बनाएका कविन्द्रमान शाक्यको जन्म विसं २०२४ सालमा बागलुङ जिल्लाको बागलुङ बजारमा भएको थियो । विद्यालय शिक्षा बागलुङकै विद्या मन्दिरमा सकाएका उनले त्यहीँको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए पास गरेका हुन् ।
फोटोग्राफीमा उनी प्रवेश गर्नुको रहस्य उनले विसं २०३९ सालताका नै म्याग्दीको सिंगा तातोपानीमा फोटो स्टुडियो स्थापना गर्नु थियो । त्यसबखत उनी काठमाडौं आई तालिम लिएका थिए । उनको फोटोग्राफीको यात्रा एसिका बक्स क्यामेराबाट सुरु भएको थियो । एनालग नेगेटिभ प्रविधि उक्त अहिलेपनि उनको साथमा काम लाग्ने अवस्थामै छ । त्यसबेला अलिअलि सोखका कारण उनी फोटोग्राफी थालेको बताउँछन् ।
तर समय विस्तारै उच्च नाफामूखी व्यापारतिर लम्कदै थियो । विसं २०४४ सालपछि उनी व्यापारतर्फ मोडिए । आफ्ना बुवाले दिएको ८० हजारले बुटवलबाट एक ट्रक सामान बागलुङ पु¥याएको उनलाई अहिले पनि ताजै छ । व्यापारको क्रममा उनी तिब्बतको खासाबाट सामान ल्याई काठमाडौंमा आफूलाई विस्तार गराए । तर उनको सोख फोटोग्राफी भएकाले उनले व्यापारबाट छुट्टाएको समय २०५२ सालपछि पुनः फोटोग्राफीलाई दिन थाले ।

२०५५ सालतिर विश्वकै होचा व्यक्तिको रुपमा परिचित खगेन्द्र थापामगरको पहिलोपटक फोटो कान्तिपुर राष्ट्रिय दैनिकमार्फत सार्वजनिक गर्ने कविन्द्रमान हुन् । त्यसपछि खगेन्द्रबारे खोजी व्यापक भएको उनी सुनाउँछन् ।
फोटोग्राफीमा पनि उनी ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भए । उनले पुरानादेखि नयाँ नेपाली हिरोइनसम्मको सबैको फोटोसुट गरिसकेका छन् । मोडलिङको दुनियाँमा प्रवेश हुन चाहनेलाई उनले छुटै प्लेटफर्म पनि दिए ।
साइबर नेपाल वेबसाइटमार्फत मोडलको खोजी गर्ने वातावरण बनाउनु कविन्द्रसहितको टीमको थियो । त्यसपछि उनी आफैंले ०५६ पछि काठमाडौं क्रेज डटकम सञ्चालनमा ल्याएका हुन् । जुन आजको समयमा नेपालमा पहिलो नम्बरको मोडल वेबसाइट मानिन्छ ।
२०६५ मा उनी राष्ट्रिय फोटो पत्रकार समूहको सचिव भए । त्यसपछि एक कार्यकाल सोही संस्थामा अध्यक्ष भए । सम्पदा फोटो भिजन संग्रहको उनी संस्थापक सदस्य हुन् । उनलाई विभिन्न सम्मान र उपाधि पनि प्राप्त भएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार २०७४ बाट उनलाई सम्मानित गरेको छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको ब्यानर प्रयोजनका लागि फोटो सुट गर्ने अवसर प्राप्त गरे । भण्डारीको बंगलादेश राजकीय भ्रमणका क्रममा उनलाई उक्त अवसर मिलेको थियो । कविन्द्र जुन कामले निकै सन्तोष मिलेको बताउँछन् ।
फोटाग्राफीसँगै फोटोपत्रकारितामा पनि अनवरत योगदान गरेका व्यक्ति हुन् कविन्द्र । उनले राजधानी साप्ताहिक, गोरखापत्र, युवामञ्च (कभर पेज), साधना, कामना, बुझमुज म्यागेजिन, कान्तिपुर साप्ताहिक (ब्लोअप), सिनेमा पत्रिकामा अनुभव संगालेका छन् । उनी फ्रिलायन्सरको रुपमा अहिले पनि कुनै न कुनै पत्रिकामा देखिने गरेका छन् ।

प्रेग्नेन्सी फोटो सुट गरेर उनले नयाँ आयाम पनि थपेका छन् । २०६८ सालताका अभिनेत्री सञ्चिता लुइटेल र ऋचा घिमिरेको प्रेग्नेन्सी फोटो सुट गरेर नेपालमा सुरुवात गरेको कविन्द्रको भनाई छ ।
फोटोग्राफीको दुनियाँमा एनालग नेगेटिभ प्रविधिबाट हात हालेर आजसम्म आइपुग्दा उनको हातमा निकोन ७५० मोडलको क्यामेरा छ । तर उनी फोटो आजको भन्दा स्लाइडरिलबाट खिचेको निकै गुणस्तरीय हुने बताउँछन् । तर प्रविधिले गर्दा छरितो भने आज बनाएको उनको भनाई छ । यद्यपि क्यामेरा राम्रो हुँदैमा फोटो राम्रो नहुने उनको तर्क छ । फोटो राम्रो हुन लेन्स राम्रो चाहिने उनी बताउँछन् ।
मिडियम फम्र्याटको क्यामेराबाट ह्वाइट ब्यालेन्स, सटर स्पिड र आइएसओको तालमेल मिलाउन सके फोटो राम्रो हुने अनुभव छ । २०७० पछि व्यापार छाडेर पूर्ण समय फोटोग्राफी र फोटोपत्रकारितामै कविन्द्रले आफूलाई समर्पित गराएका छन् ।


