काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ ।
प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।
नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।


