पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले प्रदेश सभाको सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका सांसद दिपक कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार नेपाली कांग्रेसको प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको छ ।
गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । तर, अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।


