गण्डकी, पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलु खेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार हेम्जामा वार्षिक ४५ सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ ।
“वर्षमा झण्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भन्नुभयो, “हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनिसकेको छ ।” महानगरको तथ्याङ्क अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलु खेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो । आलु खेतीका लागि हेम्जा उर्बर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय घरघडेरी विस्तारले उब्जाउ जमिन नासिएकामा भने चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण हेम्जाको कृषियोग्य जमिन घट्दै गएको हो ।
हेम्जाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने झण्डै ५० प्रतिशतले घट्ने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवर्द्धन गर्न सकिए पोखराको बजार मागलाई धान्न सकिने उहाँको भनाइ छ ।
यहाँ ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलु बाली लगाउने गरिएको स्थानीय वसन्त श्रेष्ठले बताउनुभयो । किसानले कात्तिक÷मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्राउन सकिने उहाँको भनाइ छ । “यहाँ हिउँदे आलुको मात्रै खेती हुन्छ । यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताले पनि हेम्जाको आलु खोजीखोजी किन्छन्”, उहाँले भन्नुभयो ।
आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनलगायत कारणले आलु खेतीमा चुनौती थपिदैँ गएको किसानको भनाइ छ । पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि हेम्जाको आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । यस वर्षको बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव” आइतबारदेखि सुरु हुँदैछ । महोत्सव अवधिमा लाखौँको आलु बिक्री गर्ने योजनामा किसान छन् । व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव राखिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
महोत्सवका लागि ५० टनभन्दा बढी आलु सङ्कलन गरिसकिएको उहाँको भनाइ छ । महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन् । किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृयि यन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषि सम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषि बहस, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवलोकनमा आउने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिएको छ ।
अध्यक्ष श्रेष्ठले महोत्सवमा कृषिमा ३० वटा व्यावसायिक ‘स्टल’ रहने जानकारी दिनुभयो । उहाँका अनुसार अन्य व्यापारिक ‘स्टल’ एक सय र रेष्टुराँका लागि १० ‘स्टल’ रहने छन् । “कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधि पनि समेटिएको छ । साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदि राखिने क्लबले जनाएको छ ।


