Tuesday 20 October 2026 / मंगलवार, ४ कार्तिक २०८३

हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएको पाइएपछि नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो । केन्द्रले जिल्लास्थित सबै नर्सरीको सूची बनाएर बोटबिरुवा बिक्रीका लागि सहजीकरण गर्दै आएको छ । उहाँले भन्नुभयो, “सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको छ ।”

हाडेओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुक्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्याइएको थियो । ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरीधनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हाडे ओखरमा चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेको रहेछ । हामीले बिरुवा हेर्दा मात्रै थाहा पायौँ ।” बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न केन्द्रले सबै नर्सरीलाई सचेतसमेत गराएको छ । यस्तो भेटिएमा कानूनअनुसार कारवाहीसमेत हुने केन्द्रले जनाएको छ ।

बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले आफूले थाहा नभएर बिजु ओखरको बोटमा बिजुको हाँगा कलमी गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “मैले बिक्री गरेका बिरुवा फिर्ता लिइसकेको छु, थाहा नभएर यस्तो हुन गएको हो ।” बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुक्खा फलफूल विकास केन्द्रबाट बर्सेनि हजारौँ हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय