किएभ, रुसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ । रुसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
‘पटक–पटक रुसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेका छन्,’ युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ ।किएभका नगर प्रमुख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइतेमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ ।
युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेलसेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेलमार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ ।पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमण भएका छन् । ‘आज, शत्रुले हाम्रो क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठुलो हवाई आक्रमण गरेको छ । त्यहाँ धेरै आक्रमण भएका छन्,’ टेर्नोपिलका क्षेत्रीय सैन्य प्रशासन प्रमुख व्याचेस्लाव नेगोडाले भने ।आगलागी नियन्त्रण तथा क्षति र अन्य परिणामहरूको मूल्यांकन गर्न थालेको र लुत्स्कमा भएको आक्रमणमा पाँचजना घाइते भएको उनले बताएका छन् ।
धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राममार्फत जानकारी गराएका छन् ।
पश्चिमी सहर खमेल्नेत्स्कीमा भवन र सवारीसाधन पनि क्षतिग्रस्त भएको पनि उक्त क्षेत्रका गभर्नरले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा किएभले हालै गरेको ड्रोन आक्रमणको बदला लिने वाचा गरेका छन् । यसैबिच, पश्चिमी तुला क्षेत्रमा रुसमा भएको युक्रेनी हमलामा तीनजना घाइते भएका छन् । रुसी हवाई रक्षा बलले मस्कोलाई लक्षित गरेको ड्रोनलाई गोली हानेर खसालेको किएभका नगरप्रमुखले बताएका छन् ।


