भारत, भारतको दक्षिणी राज्य तेलंगानाको एक औषधि कारखानामा सोमबार भएको ठुलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मंगलबार बताएका छन् । राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर ९३१ माइल० टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जिभीनारायण रावले बताए।
अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए । उनका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ ।
करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ । ‘कारखानाको सम्पूर्ण संरचना भत्किएको छ । आगो निभाइएको छ र हामी आगामी केही घण्टामा भग्नावशेष हटाउने काम सकिने आशा गर्छौँ,’ रावले भने।


