काठमाडौं, छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् ।शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ राजधानी काठमाडौँमा लोकार्पण गरियो ।कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।’शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।
कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए ।प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा प्रस्तुत गरेका बताए ।विषयगत विविधतालाई कवितामा उल्लेख्य स्थान दिएको चर्चा गर्दै अर्का समीक्षक डा. विन्दु शर्माले अलङ्कारका कवितामा प्रगतिवादी चिन्तन भेटिने कुरा उल्लेख गरिन् ।त्यस्तै, शैलेन्द्र अधिकारीले अलङ्कारका कवितामा प्रगतिवादका साथमा व्यङ्ग्यको समिश्रण भेटिने उल्लेख गरे ।
विभिन्न पिङ्गल छन्दलाई कुशलतापूर्वक खेलाउने अलङ्कारका २ वटा कविता विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाएका थिए भने ज्ञानु विद्रोही, देवु लुइँटेल र केशव भट्टराईले एक/एकवटा कविता वाचन गरेका थिए । यसअघि उनका ‘देशको पुर्पुरो’ गजलसङ्ग्रह र ‘विश्रान्त’ महाकव्य प्रकाशित छन् । कवि अलङ्कारको यो तेस्रो काव्यकृति हो । उनको अनुवादमा ‘चाणक्यनीतिदर्पणं’ पनि प्रकाशित छ ।


